निर्वाचनको समयमा विदेशमा व्यस्त सेलिब्रेटी

Read Time = 7 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । भोलि शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि विभिन्न शहरमा रहेका घर फर्किरहेका छन् । आजसम्म घर फर्कनेहरूको घुइँचो नै लागेको छ । काठमाडौंको नयाँ बसपार्क, कलंकीदेखि कोटेश्वर जस्ता ठाउँमा ठूलो घुइँचो नै देखिन्छ । आफ्नो कामकाजलाई थाती राखेर यसपटकको निर्वाचनमा सही व्यक्ति चुन्नुपर्छ भन्ने युवाहरूको जमात धेरै देखिन्छ ।

नेपाली कला क्षेत्रका केही सेलिब्रेटी पनि उम्मेदवार हुनुहुन्छ । काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लामा उम्मेदवारी घोषणा गरेर प्रचार गर्ने सेलिब्रेटी धेरै हुनुहुन्छ । काठमाडौं उपत्यकाको मेयर पदका उम्मेदवार ¥यापर बालेनको चर्चा निकै छ ।

यस्तै निर्वाचनको मुखमा सांगीतक कार्यक्रमका कारण केही सेलिब्रेटी भने विदेश लाग्नुभएको छ । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका केकी अधिकारी केही दिनअघिमात्रै अमेरिका उड्नुभयो । यस्तै अमेरिकामै प्रकाश सपूत अहिले सांगीतिक कार्यक्रममा व्यस्त हुनुहुन्छ । केही महिनाअघिदेखि शंकर बिसी अमेरिकामै रहनुभएको छ । यस्तै गत महिना गायिका कला लम्साल लण्डन पुग्नुभयो । यस्तै दुई दिनअघिमात्रै मोडल रिना थापा बेलायत उड्नुभएको छ । नायक सलोन बस्नेत गत बुधबार ‘हनी बनी’ चलचित्रको सुटिङका लागि भन्दै लण्डन उड्न्भएको छ । यस्तै गायिका ज्योति मगर पनि नर्बेमा रमाइरहनुभएको छ ।

‘मेरो डान्स कप युएस’ रियालिटी शोका लागि नायिका केकी अमेरिका उड्नुभएको हो । नायिका केकीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बहुमूल्य भोटको प्रयोग गर्न नपाउँदा चित्त दुखेको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘निर्वाचनको समयमा देशबाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएकाले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन । तपाईंहरूले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नुभएकै छ । निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला । शान्त, सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु ।’

यस्तै नेपाली म्युजिक भिडियोको क्षेत्रमा पाँचसय बढीमा अभिनय गर्नुभएकी मोडल रिना थापामगरले पनि निर्वाचनको मुखमै विदेश हिँड्नुपर्दा मन खिन्न भएको बताउनुभयो । उहाँले बेलायतमा पूर्वनिर्धारित कार्यक्रम भएकाले यही समयमा बेलायत आउनुपरेको भन्दै यसपटक पनि भोट हाल्न नपाउँदा मन दुःखी भएको बताउनुभयो । ‘कार्यक्रमहरू पहिल्यैदेखि तय भएका हुन्छन्, मिति सार्न नमिल्ने हुन्छ । आफ्नो देशमा निर्वाचनको रौनक छ तर यता आउनुपर्‍यो ।’ रिनाले हिमालय टाइम्ससँग टेलिफोनमा कुरा गर्दै भन्नुभयो, ‘मैले यसपटक भोट हाल्न नपाए पनि सबैलाई आफूलाई मनले खाएको र आफ्नो गाउँठाउँ जसले विकास गर्छ जस्तो लाग्छ उसलाई भोट हाल्न अपिल गर्छु ।’ कलाकार रिना काभ्रेको पाँचखाल नगरपालिका वडा नं १३ को कोशीदेखाबाट भोट हाल्ने तयारीमा हुनुहुन्थ्यो ।

गायिका कला लम्साल पनि यतिबेला लण्डनका विभिन्न स्टेजमा व्यस्त हुनुहुन्छ । नयाँ वर्षको छेको पारेर सांगीतिक कार्यक्रमका लागि उड्नुभएकी कलाले अहिलेसम्म नौवटा कार्यक्रममा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ । उहाँले लण्डन, टोरन्टो, मन्ट्रियल, क्याल्गरीलगायत सिटीमा प्रस्तुति दिएको र अब केही सातामात्रै रहने जानकारी दिनुभयो । गायिका कलाले पनि यसपटकको स्थानीय तहको निर्वाचनमा आफ्नो बहुमूल्यको भोटको प्रयोग गर्न नपाउँदा दुःख लागेको बताउनुभयो । कलाले पनि पूर्वनिर्धारित कार्यक्रम भएकै कारण निर्वाचनको मितिसम्म स्वदेश फर्कन नसकेको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘म नेपालमा भएको भए गृहजिल्ला तनहुँ मै गएर भोट हाल्ने सोचेकी थिएँ । आफ्नो एक भोटका कारण पनि सही प्रतिनिधिलाई जिताउन ठूलो मद्धत पुग्छ त्यो बुझेकी थिएँ, तर सोचेजस्तो भएन ।’

कोरियोग्राफर तथा मोडल शंकर बिसी भने केही महिना अघिदेखि नै अमेरिकामै रहनुभएको छ । उहाँले तीनपर्वलाई लक्षित गर्दै नेपाल फर्कने तयारी गर्दै हुनुहुन्छ । उहाँ पनि अहिले ‘मेरो डान्स कप युएस’का लागि व्यस्त हुनुहुन्छ । काठमाडौं उपत्यका बाहिरका सेलिब्रेटीहरू भने धेरैजसो गृहजिल्ला पुगिसक्नुभएको छ भने कति आज जाने तयारीमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?