सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने

Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।

आयोगले गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षहरूबारे स्पष्ट गरेको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदानकेन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ ।

तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिइने छैन । त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्रलगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तुलैजान नपाइने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानून बमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढंगले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?