सिंचाइमा वर्षेनी करोडौँ लगानी : २० प्रतिशत मात्रै सिंचाइ सुविधा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । यहाँका रहेक किसान आयातित खाद्यान्न मै निर्भर बन्नु परेको छ । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू-भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिंचाइको सुविधा पुग्न नसक्दा कृषकहरु परनिर्भर पर्नु परेको हो ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर १३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा संघीय सरकारबाट अनुदान प्राप्त योजनाहरु हुन् । जिल्लाको १० वटै पालिकाहरुमा योजनाहरु परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । जिल्लामा सहज रुपमा सिंचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौँका योजना पार्दै आएको छ ।

यस वर्ष केन्द्र सरकारले सात करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख ३० हजार रुपैयाँ बजेट विनयोजन गरेको छ । १० वटै पालिकामा सहज रुपमा सिंचाइको व्यवस्थाप गर्ने योजना अनुरुप कामहरु अगाडि बढाइएको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिंचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिनुभयो ।

उहाँले यस कार्यालयबाट सिंचाइ, नदि नियन्त्रण र उर्जा सम्बन्धी काम हुँदै आए पनि जनताको चाहना अनुसार काम हुन नसकेको बताउनुभयो । ओझाले बागलुङ भौगोलिक रुपमा निकै विकट रहेको र आफूहरुले जनचाहाना अनुसार सिंचाइको व्यवस्था गर्न नसकेको बताउनुहुन्छ ।

“अहिलेसम्म बागलुङ खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिंचाइं गर्न सकेका छौँ, बागलुङ जिल्ला भौगोलिक रुपमा निकै विकट छ, हामीहरुले हरेक वर्ष जनताले चाहे जति बजेट पार्न पनि सकेका छैनौँ, खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहे अनुसार सिंचाइको व्यवस्थापन हुन सकेको छैन, यद्यपी हामीहरु निरन्तर लागि रहेका छौँ” ओझाले भन्नुभयो ।

बागलुङमा सिंचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिंचाइको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेति हुने खेतबारीमा सिंचाइका योजनाहरु पर्ने गरेको उहाँले बताउनुभयो । सिंचाईको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ ।

गत वर्ष ५ हजार ८०० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष ६ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । सिंचाइको राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादनसमेत बढेको पाइन्छ । गत वर्ष १८ हजार ३५४ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार ६९० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा १३७ वटा योजना पर्दा राम्रो धान उत्पादन हुने ठाउँमा योजना नगरेको बागलुङ नगरपालिका-४ का टिकाराम सापकोटाले बताउनुभयो । सापकोटाले बागलुङ जिल्ला मै सबैभन्दा बढी धान फेँदीमा उत्पादबन हुने भन्दै यहाँ सिंचाइको राम्रो व्यवस्थापन नहुँदा हरेक वर्ष धान उत्पादनमा कमी आएको बताउनुहुन्छ ।

सापकोटा भन्नुहुन्छ-‘यहाँ यति ठूलो धान फल्ने फाँट छ, तर सिंचाइको निकै समस्या छ, रहेक वर्ष धान रोपाइँमा पानी नपाइँदा स्थानीयहरु झगडा गर्नु पर्ने अवस्था छ, कुलो सानो छ, खेतीयोग्य जमिन धेरै भए, धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, कहिले त आकाशे पानीको भरमा खेतमा धान रोप्नु पर्ने अवस्था हुन्छ, सिंचाइको राम्रो व्यवस्था हुन्थ्यो भने बाहिरबाट चामल किनेर खानु पर्ने थिएन ।”

स्थानीय यामबहादुर केसीले खेतीयोग्य जमिनमा सिंचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नु परेको बताउनुभयो । केसीले खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला सिंचाइ कै पिरलो हुने बताउनुहुन्छ । धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिंचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।

“हाम्रो गाउँ ठाउँमा बालीनाली निकै राम्रो हुन्छ, पहिले-पहिले सिंचाइको समस्या थिएन, अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ, पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए, साँघुरो कुलाको पानीले धेरै ठाउँ सिंचाइ गर्नु पर्ने हुँदा पुग्दै,” केसीले भन्नुभयो- “त्यसले गर्दा बालीले सिंचाइ पाउँदैन पानी नपाएपछि के को उत्पादन बढ्थ्यो र ?”

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेतीहुँदै आएको छ । त्यस मध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिंचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिंचाइको सुविधा पुगेको छ । त्यस मध्ये बाह्रै महिना सिंचित क्षेत्र दुई हजार ७७५ हेक्टर रहेको छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?