म्याग्दीका स्थानीय तहमा रु ४७ करोड ५० लाख बढी बेरुजु

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका ८ वटा स्थनीय तहमा आर्थिक वर्ष २०७८÷७९ मा ४७ करोड ५० लाख ३६ हजार रुपैयाँ बजेट बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले जिल्लाको सो बेरुजु देखाएको हो ।

सबै भन्दा बढी बेरुजु मालिका गाउँपालिकामा र कम बेरुजु रघुगंगा गाउँपालिकामा देखिएको छ। प्रतिशतका हिसाबले बेनी नगरपालिकामा ८.५६ प्रतिशत, रघुगंगामा ३.६, मंगलामा ८.२२, अन्नपूर्णमा ५.१, मालिकामा १८.३३, धवलागिरीमा १२.३२ प्रतिशत बेरुजु देखिएको छ ।

बेनी नगरपालिकामा एक अर्व ३२ करोड ७० लाख ९७ हजार रुपैयाँको लेखापरिक्ष्णमा ११ करोड २६ लाख १२ हजार रुपैयाँ बेरुजु प्रतिवेदनमा उल्लेख छ ।

रघुगंगा गाउँपालिकाको ८१ करोड ८२ लाख ८१ हजारको लेखापरीक्षणमा २ करोड ९४ लाख ६८ हजार बेरुजु देखिएको छ भने मंगला गाउँपालिकाको ७६ करोड ८९ लाख २६ हजारको लेखापरिक्षणमा ६ करोड ३१ लाख ९९ हजार रुपियाँ बेरुजु प्रतिवेदनमा देखिएको छ ।

यस्तै, अन्नपूर्ण गाउँपालिकामा ७८ करोड ७८ लाख ५७ हजारको लेखापरीक्षणमा चार करोड १ लाख ४७ हजार रुपियाँ बेरुजु छ भने मालिका गाउँपालिकामा ७७ लाख ६६ लाख ५५ हजारको लेखापरिक्षमा १४ करोड २३ लाख ५५ हजार रुपियाँ बेरुजु प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै धवलागिरी गाउँपालिका ६९ करोड ९९ लाख ६५ हजार रुपैयाँ बजेटको लेखापरिक्षणमा आठ करोड ६२ लाख ५५ हजार रुपैयाँ बजेट बेरुजु प्रतिवेदनले देखाएको छ ।

जिल्लामा बेरुजु बढ्नुका कारणहरू पेस्की धेरै लिने र समय सीमाभित्र पेस्की फछ्र्योट नगर्ने, स्रोतसाधनको उपयोगमा चुहावट, दुरूपयोग तथा अनियमितता नियन्त्रण गर्न नसक्नु, आन्तरिक लेखापरीक्षण प्रभावकारी नहुनु, कर्मचारीको खर्चमा अनियमितता हुनु र प्रक्रिया नपु¥याई खर्च गर्नु, लेखा उत्तरदायी अधिकृत र जिम्मेवार व्यक्तिबाटै आर्थिक कार्यविधि ऐन र आर्थिक कार्यविधि नियमावलीअनुसार निर्धारित कार्यविधि र प्रक्रिया नपुर्याई खर्च गर्नु, लेखा राख्ने कर्मचारीलाई तालिम, ज्ञान, सीपको अभाव हुनु, अन्तिम लेखापरीक्षणले दिएका सुझाव पालना नगर्नु, महालेखापरीक्षकले तोकेको ढाँचामा लेखा नराख्नु जनप्रतिनिधिको प्रभावमा कर्मचारीले मनोमानी खर्च गर्नुले बेरुजु बढ्दै गएको देखिन्छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँवार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा म्याग्दीका स्थानीयतहमा ५ करोड ४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखाएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?