तीन दिन पैदल हिँडेर भोट खसाल्दै सिमकोस र बगरका बासिन्दा

Read Time = 4 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । अहिलेको जमानामा पनि एउटा भोट हाल्न तीन दिन पैदल हिँड्नुपर्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्ला । तर, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने दुईवटा गाउँका एक सय बढी मतदाता आज हुने स्थानीय तहको दोस्रो निर्वाचनमा पनि तीन दिन पैदल हिँडेर मतदान गर्दैछन् । धवलागिरि गाउँपालिका–४ को सिमकोस र बगरगाउँका बासिन्दा मुदीको बुद्धिविकास मावि मतदान केन्द्रमा पुगेर मतदान गर्दैछन् । गाउँबाट मतदान केन्द्रमा पुग्न डेढ दिन र फर्किन डेढ दिन लाग्छ ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । बगरका स्थानीयवासी धनबहादुर तिलिजा मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरेको बताउनुहुन्छ । उहाँले तीन दिनका लागि घरको सबै काम छाडेर मतदानका लागि बिहीबार बिहान नै घरबाट हिँडेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बिहीबार गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छौँ, शुक्रबार ११ बजेतिर मतदान केन्द्रमा पुग्छाँै, मतदान गरी फर्केपछि एकरात बीच बाटोमा नै बास बसेर शनिबार दिउँसो बल्ल घरमा आइपुग्छौँ ।’

धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानवबस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ । साबिक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धिविकास मावि हो । त्यहाँ १०० भन्दा बढी मतदाता छन् । वि.सं २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए । २०५४ को स्थानीय तहको चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् ।

ज्येष्ठ नागरिक, अपांगता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट बञ्चित हुने गरेका छन् । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ । मुदी गाउँसम्म मात्र सडक पुगेको छ । नाउराको भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो । वि.सं २०६४ अघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन । धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ ।

वि.सं २०७५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो । उक्त एकाइ नुहँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो । बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा मतदाता संख्या थोरै भएकाले पूरा हुन सकेको छैन । एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?