स्थानीय तह निर्वाचन-२०७९ : मतगणना सकिएका पालिकामा एमालेको अग्रता, दोस्रो स्थानमा नेपाली कांग्रेस

Read Time = 5 mins

डिबी शर्मा/हिटा
काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । शनिबार अबेरसम्म १२ स्थानीय तहको परिणाम आएको छ । १२ मध्ये तीन पालिकामा निर्विरोध निर्वाचित भएका छन् । आठ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।
अबेर प्राप्त विवरणअनुसार १२ मध्ये सबैभन्दा धेरै पालिकामा एमालेले विजय हासिल गरेको छ । एमालेले ६ पालिकामा विजय हासिल गर्दा कांग्रेसले तीन पालिका जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले दुई र माओवादी केन्द्रले एक पालिकाको प्रमुखमा जित हात पारेका छन् ।
एमालेले मनाङको मनाङ ङिस्याङ गाउँपालिका र चामे गाउँपालिका अध्यक्ष जितेको छ । त्यस्तै, मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र लोमन्थाङ गाउँपालिका अध्यक्षमा जित हात पारेको छ । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको नेतृत्व पनि एमालेले जितेको छ । मनाङ ङिस्याङ गाउँपालिका र मनाङ चामेमा लोकेन्द्रबहादुर घले, लो-घेकर दामोदरकुण्डमा लोप्साङ छोम्पेल विष्ट, बारागुङ मुक्ति क्षेत्रमा रिङजिन नामगेल गुरुङ, लोमन्थाङमा टसी न्हर्वु गुरुङ र शे फोक्सुण्डोमा धावा सम्डुक गुरुङ (निर्विरोध) निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका र मनाङको नाँसोमा गाउँपालिकाको नेतृत्व जितेको छ । नासो गाउँपालिकामा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल थियो । त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
कांग्रेसबाट घरपझोङमा मोहन सिंह लालचन, नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामा र नासोँमा धनबहादुर गुरुङ विजयी हुनुभएको छ ।

एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाकै छार्का साङतोङ गाउँपालिकाको नेतृत्व जितेको छ । उसैले दुवै पालिकाको नेतृत्व निर्विरोध जितेको हो । माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकाको नेतृत्व जितेको छ । माओवादीले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र कांग्रेससहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको हो । एकीकृत समाजवादीबाट काइकेमा अंगदकुमार राना र छार्कामा साङतोङ सेनाङ गुरुङ विजयी हुनुभएको छ । दुवै निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यस्तै, उपप्रमुखमा पनि एमालेको अग्रता छ । शनिबार अबेरसम्म प्राप्त विवरणअनुसार पाँच पालिकामा एमालेका उपप्रमुख विजयी भएका छन् । कांग्रेसका तीन, माओवादीका एक र समाजवादीबाट एकजना उपप्रमुख विजयी भएका हुन् । एकजना भने अन्यबाट विजयी भएका छन् । यसैबीच, राति अबेरसम्मको मत परिणामअनुसार वडाहरूमा विजयी हुनेको संख्या ५० भन्दामाथि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?