पट्यारलाग्दो मतगणना

Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार दिन बितेको छ । गत शुक्रबार देशका अधिकांश पालिकामा निर्वाचन सम्पन्न भएको थियो । केही पालिकामा शनिबार रातिबाटै मतगणना सुरु भए पनि अधिकांशमा आइतबार बिहानबाट मतगणना सुरु भएको हो । तर, सोमबार अबेरसम्म एकतिहाइ पालिकाको पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन । ७५३ स्थानीय तहमध्ये एकतिहाइ पालिकामा पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन । प्राप्त विवरणमा सहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसकेको छ । तर, सहरका ठूला पालिकामा सुस्त गतिमा गणना भइरहेको छ । मतगणना सुस्त भइरहेको भन्दै दलका प्रतिनिधि र उम्मेदवारसमेत आजित छन् । कतिपय ठाउँमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरू पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ । निर्वाचनको परिणाम सुन्न आतुर रहेका देश विदेशका नेपालीहरूलाई आयोगको कछुवा गतिको मतगणनाले पट्यार लगाएको छ ।

काठमाडौं महानगरको मतगणना शनिबार बिहानबाट सुरु भएको थियो । तर, सोमबार अबेरसम्म २० हजार बढी मतगणना भइसकेको छैन । एक लाख ९० हजार बढी मत खसेको काठमाडौंमा यही गतिमा गणना हुँदा अन्तिम नतिजा आउन झण्डै एक महिना लाग्ने देखिन्छ । काठमाडौं मात्रै होइन अन्य ठूला पालिकाको हालत पनि उस्तै छ । ललितपुर, भरतपुर र वीरगञ्जमा पनि सुस्त गतिमा गणना भइरहेको छ । थोरै मतदाता भएका पालिकाको परिणाम आए पनि धेरै मतदाता र उम्मेदवार रहेका पालिकाको मतगणनामा ढिलाइ देखिएको हो । धेरै मतदाता भएका खासगरी उपमहानगर र महानगरको अन्तिम परिणाम आउन समय लाग्ने देखिएको छ ।

मतगणनामा भएको ढिलाइसँगै निर्वाचन आयोगको एक साताभित्र मतगणना सक्ने लक्ष्य पूरा नहुने देखिएको छ । अहिलेका स्थानीय तहका जनप्रतिनिधिको कार्यावधि ५ जेठसम्म मात्र भएकाले सोही अवधिभित्र मतदानको अन्तिम परिणाम दिने आयोगको लक्ष्य थियो । चुनाव सम्पन्न भएलगत्तै शुक्रबार आयोगले पाँच दिनभित्र सबै पालिकाको नतिजा आइसक्ने घोषणा गरेको थियो । २०७४ को निर्वाचनमा अन्तिम मत परिणाम आउन १७ दिनसम्म लागेको थियो ।

धेरै मतदाता र ठूलो मतपत्र हुँदा ढिलाइ, छिटो गर्ने उपाय निकाल्छौँ : आयोग
मतगणनामा ढिलाइ भइरहेको निर्वाचन आयोगले स्वीकार गरेको छ । धेरै मतदाता र ठूलो मतपत्र भएका पालिकामा धेरै समय लागिरहेको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताउनुभयो । ‘गणना ढिलो भएको कुरा साँच्चै हो । लुकाउनुपर्ने कुरा छैन,’ प्रवक्ता शर्मा पौडेलले भन्नुभयो, ‘जहाँ मतपत्र सानो र मतदाता कम छन् त्यहाँ परिणाम आएको छ । मतदाता बढी भएको र मतपत्र ठूलो भएको नगरमा समस्या आएको छ । धेरै मतदाता र चिन्ह भएका ठाउँमा बढी समय लागिरहेको छ । अत्यधिक मतदाता र चिन्ह हुँदा व्यवस्थापकीय कार्य जटिल हुन्छ ।’

तर, गणनामा भइरहेको ढिलाइबारे आयोगको ध्यानाकर्षण भएको जनाउँदै छिटो गर्नेबारे तयारी गरिरहेको उहाँले बताउनुभयो । महानगर र उपमहानगरमा भइरहेको ढिलाइप्रति आयोग चिन्तित रहेको उहाँको भनाइ छ । ‘खासगरी महानगर र उपमहानगरमा मतगणनामा भइरहेको ढिलाइप्रति आयोग चिन्तित छ,’ उहाँले भन्नुभयो, ‘केही निकास निस्केला भन्ने लाग्छ । महानगरमा ढिलो भएको ठाउँमा छिटो गर्न केही न केही उपाय निकालिन्छ ।’ जेठ ५ भित्रै सबै पालिकाको नतिजा आउन नसके पनि ठूलो मुद्दा नहुने उहाँले विश्वास व्यक्त गर्नुभयो । तर, यसबारे आयोगले औपचारिक छलफल गर्ने उहाँले बताउनुभयो ।

छिटो गणना गर्ने व्यवस्था गर्न निर्देशन
मतगणनामा जति ढिलाइ हुन्छ, त्यति दुःख र विश्वास घट्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि मतगणनामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्नुभएको छ । उहाँले गणनामा ढिलाइ हुँदा जनविश्वासमा कमी आउने भन्दै छिटो गणना गर्ने व्यवस्था गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सोमबार विराटनगर पुग्नुभएका प्रमुख आयुक्त थपलियाले मतगणना छिटो गर्न आयोग जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘मतगणना छिटो गर्न आयोग जुनसुकै सहयोग गर्न तयार छ । कर्मचारीका लागि पनि यो अवसर छ,’ उहाँले भन्नुभयो, ‘हामीले मतगणनामा ढिलो ग¥यो भने आयोगप्रति विश्वास घट्न सक्छ । विश्वास घट्ने काम कसैले पनि गर्नु हुँदैन । निर्धक्क भएर काम गर्नुहोस् । समयमै नतिजा दिन नसक्दाको जुन अवस्था छ त्यो अन्त्य गर्दिनुहोस् । आयोगले जति ढिला गर्छ त्यति दुःख पनि र विश्वास पनि घटाउने काम हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?