सिन्धुपाल्चोकको चार तहको परिणाम सार्वजनिक, तीनमा कांग्रेस, एकमा माओवादी

Read Time = 6 mins

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको १२ मध्ये चारवटा वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका र हेलम्बु गाउँपालिकाको अन्तिम मतपरिणाम आएको हो । तीनमा कांग्रेस र एकमा माओवादी र एकीकृत समाजवादी गठबन्धन विजयी भएको छ ।

बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर निमफुञ्जो शेर्पालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत विजयी हुनुभएको छ । कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसे अघिल्लोपटक एमालेले जितेको थियो । एमालेका उम्मेदवारसँग पराजित बालकृष्णले यसपटक शेर्पालाई पराजित गर्दै नगरको नेतृत्व आफ्नो पोल्टामा पार्नुभएको छ । शेर्पाले पाँच हजार चार सय ३३ मत ल्याउँदा बालकृष्णले सात हजार सात सय २८ मत ल्याउनु भयो ।

उपमेयरमा एमालेबाटै उम्मेदवारी दिएकी निवर्तमान उपप्रमुख सुशीला पाख्रिन पराजित हुनुभयो । पाख्रिनले पाँच हजार नौ सय ९० मत ल्याउँदा कांग्रेसकी उपप्रमुख मञ्जु तामाङले ६ हजार नौ सय ७७ मत ल्याएर विजयी हासिल गर्नुभयो ।

नगरपालिकामा ९ वडा छन् । जसमा वडा नम्बर १,२,३,४,५, ८ र ९ मा कांग्रेस र वडा नम्बर ६ र ७ मा एमाले उम्मेदवार विजयी हुनुभएको छ ।

बलेफी गाउँपालिका अध्यक्षमा माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी हुनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ विजयी हुनुभयो । गठबन्धनका अध्यक्ष उम्मेदवार गंगा तामाङले चार हजार ६ सय ६६ र कांग्रेसका सुवास तिमल्सिना चार हजार एक सय पाँच मत ल्याएर पराजित हुनुभयो ।

एमालेबाट अध्यक्ष पदमा उम्मेदवार नारायणकाजी श्रेष्ठले तीन हजार ३८ र एमालेकै उपाध्यक्ष उम्मेदवार सपना थापाले तीन हजार ६ सय ३३ मत ल्याउनु भयो । कांग्रेसकी सरु लामा तामाङले चार हजार तीन सय ९४ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभयो ।

सो पालिकामा ८ वडा छन् । जसमा वडा नम्बर १,२,३, ५, ७ र ८ मा कांग्रेसका उम्मेदवारले जित हात पार्नुभयो । वडा नम्बर ४ मा माओवादी केन्द्र र ६ मा एमालेका उम्मेदवार विजयी हुनुभयो ।

भोटेकोसी गाउँपालिकामा कांग्रेसले जित निकालेको छ । कांग्रेसका पासाङ नुर्पु शेर्पाले अध्यक्षमा दुई हजार ६ सय पाँच मत ल्याए भने उनका प्रत्यासी एमालेका अध्यक्ष अमृत खड्काले दुई हजार ४८ मत ल्याएर पराजित हुनुभयो ।

कांग्रेसका दिछेन शेर्पोले २७ सय १२ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभयो । एमालेका उपाध्यक्ष उम्मेदवार सुन्तलीमाया लामा श्रेष्ठले २ ५ सय ५३ मत ल्याउनुभयो ।

यसअघि माओवादी केन्द्रको पोल्टामा रहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा यसपटक भने कांग्रेसले जित निकालेको हो । निवर्तमान गाउँपालिका अध्यक्ष एव‌ माओवादी केन्द्रका उम्मेदवार राजकुमार पौडेल र उपाध्यक्ष उम्मेदवार आशा गुरुङले १९१८ र १६१२ मत ल्याएर तेस्रो हुनुभएको छ ।

सो पालिकामा पाँच वडा छन् । जसमा वडा नं. १,२ र ५ मा कांग्रेस उम्मेदवारले वडाध्यक्ष पदमा जित्नुभएको छ । वडा नं. ४ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार लालटिन चिन्हका निमा सोना शेर्पा विजयी हुनुभएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा कांग्रेसका निवर्तमान अध्यक्ष निमा ग्याल्जेन शेर्पा नै दोहोरिनु भएको छ । पालिकामा अध्यक्ष–उपाध्यक्ष कांग्रेसले नै जितेको छ । शेर्पाले ५३ सय ८६ मत ल्याउनु भयो । अध्यक्षका प्रत्यासी एमाले उम्मेदवार दावा लामाले ४६ सय तीन मत ल्याउनु भयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसकै अप्सरा लामिछाने ५२ सय १४ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षकी प्रत्यासी एमालेकी गंगा अर्यालले ४६ सय ७१ मत ल्याउनु भयो । माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित्रा आचार्य आठ सय १३ र १०० मत ल्याएर तेस्रो हुनु भयो ।

सो पालिकामा सात वडा छन् । १,२, ४,५ र ७ मा कांग्रेस र वडा नम्बर ३ र ६ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?