यथास्थिति भत्काउने एउटा झिल्को

डा. डीआर उपाध्याय
Read Time = 10 mins

यसपालिको स्थानीय निर्वाचनमा केही फरक परिदृश्य देखा परे । स्थानीय तह निर्वाचन घोषणा भएसँगै विभिन्न दलका उम्मेदवार चर्चामा आए भने स्वतन्त्र उम्मेदवारले पनि मतदातामा आफ्नै छाप छोडन सफल भए । निर्वाचनमा सुरुदेखि नै चर्चामा आएका पात्र रहे बालेन शाह । देशकै राजधानीको महानगर म हाक्न सक्छु भनेर एक युवा चुनावी मैदानमा आए । नयाँ जोश र जागर लिएर उनी चुनावी मैदानमा आए ।
काठमाडौं महानगरको मेयर बन्ने दौडमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी ५४ जना प्रतिस्पर्धी मैदानमा रहे पनि युवा तथा परिवर्तन चाहनेबीच बालेन आफ्नो छाप छोड्न सफल भए । यसले के देखाउँछ भने दलहरूप्रति व्यापक असन्तुष्टि छ, त्यसको एउटा झिल्को हुन बालेन शाह । जित हार आफ्नो ठाउँमा छ तर यो सशक्त उपस्थिति नै प्रतिरोध हो ।

पक्कै पनि देशमा धेरै परिवर्तनको खाँचो छ तर सवाल यो हो कि यसको नेतृत्व कसले गर्ने भन्ने हो । भिजनसहितको युवा जोश लिएर आएमा जनता त्यसको पक्षमा रहेका छन् भन्ने कुरा यो चुनावका परिदृश्यले देखाउँछ । यस पटकको निर्वाचनमा युवाको उत्साहजनक उपस्थितिले तत्कालै नभए पनि आउँदा दिनका लागि परिवर्तनको आशा पलाएको छ । नेपाली राजनीतिमा युवाहरूको वितृष्णा बढ्दै गएका बेला यो सशक्त उपस्थितिले एउटा आशा जगाएको छ ।

नेपालमा भएका परिवर्तनका हरेक आन्दोलनमा युवाहरूको सशक्त उपस्थिति रहृयो । परिवर्तनका संवाहक बने युवा तर परिवर्तनपछि नेताको पछि-पछि लाग्नेमात्र युवाको काम हो । नेपालको कूल जनसंख्याको ३८.८ प्रतिशत युवाले ओगटेको छ । कुनै पनि देशको युवा भनेको त्यस देशको शक्ति हो । देशको अनमोल, अनन्त शक्तिका साथै भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो । हाम्रो कतव्र्य भनेको युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नु पर्छ ।
तर, हामीले देशको यो शक्तिलाई खाडीको बालुवामा पसिना सिञ्चन गर्न पठाएका छौं र तिनीहरूले पठाएको रेमिट्यान्समा आफू रमाएका छौं । अदक्ष र अर्धदक्ष जनशक्ति हामीले खाडीका मुलुकमा पठाएका छौं भने अलिकति पढेलेखेका युवाहरू विकसित देशमा पुगेका छन् । यसरी कसरी देशको विकास हुन्छ । यो सम्भव छैन । युवा जनशक्तिमा आफ्नै देशको माटो सिञ्चन गर्न नलगाएसम्म देश बन्दैन । यो कुरा नेतृत्वले बुझ्न नसक्दा नै आज देश यो अवस्थाबाट गुज्रिन बाध्य भएको छ ।

मलाई के लाग्छ भने युवा जोश जाँगर सोचमा हुनुपर्छ, विचारमा हुनुपर्छ । युवा भएर पनि ज्येष्ठ नागरिक जस्तो व्यवहार छ भने त्यो युवा हुन सक्दैन । पाको उमेरको भएर पनि युवा जोश जाँगर र उत्साह छ भने उसको कार्यशैली अवश्य फरक हुन्छ । युवा शब्द विशेषगरी उमेरलाई दर्शाउँछ तर कार्य गर्ने सोचमा युवा हुन जरुरी छ । मेरा नजिक रहनुभएका, मसँग संगत गर्नु भएका धेरैलाई थाह छ मैले मेरो उमेर पनि २५ भन्ने गरेको छु । मेरा लेखाइमा पनि त्यो कुरा झल्किने गरेको उहाँहरूको भनाइबाट पाउँछु ।

अब युवाहरू राजनीति फोहोरी खेल हो भन्दै पन्छिने होइन, निश्चित भिजन र मिसन लिएर राजनीतिमा आउन जरुरी छ । फोहोर पोखरीमै पसेर सफा गरेर निस्कने आँट गर्नुपर्दछ आजको युवाले । देशको वर्तमान माग पनि हो । अन्यथा हामी सधैं पछि पर्ने छौं । स्थानीय निर्वाचनमा देखिएको उत्साहले केही सकारात्मक संकेत देखिएको छ । भनिन्छ नि हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । देशको कालो बादलमा चाँदीको घेरा युवा नै हो । अब अझ सशक्त रूपमा आउनुपर्छ । देशको बागडोर सम्हाल्ने गरी आउनुपर्छ ।

विदेशमा गएर आफू समृद्ध हुने सपना होइन देशलाई समृद्ध बनाउने सपना देख्नुपर्छ । देश समृद्ध भएमा मात्र हामी सबैको मान र शान रहने छ । आजको युवाको काँधमा यो जिम्मेबारी आएको छ । इतिहासले सुम्पिएको जिम्मेबारी लिन युवा तयार भएर आउनुपर्छ । अन्यथा इतिहासले हामीलाई धिक्कार्ने छ । स्थानीय निर्वाचनमा केही झिल्को देखिएको छ अब राँको बन्न आवश्यक छ । सक्षम र ऊर्जाशील युवाहरूले नेतृत्व लिएमा अवश्य परिवर्तन हुँनेछ ।

आजको युवा भोलिको भविष्य हो । युवाको काम र जोशको आफ्नै अलग अन्दाज हुन्छ । केही नयाँ गर्ने चाह हरकोही युवामा हुन्छ । युवाको जोश र उत्साहलाई पाको उमेरको संयोजनले देशविकासले पक्कै अग्रगामी दिशा लिन सक्छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कूल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरूको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्यांक छ । यसबाट निर्वाचित भएर कति आउने हुन ?

त्यो सबै मतपरिणाम आएपछि थाह लाग्ने नै छ । निर्वाचनका लागि कुल एक लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ ले उम्मेदवारी छन् । पुरुषको एकल प्रतिशत १२.९५ छ भने महिलाको एकल ११.३६ प्रतिशत छ ।

त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ । सो उमेर समूहको पुरुषमा ३९ हजार ६६९ र महिला २७ हजार ४९३ जना उम्मेदवार छन् । दुवैलाई जोड्दा ६७ हजार १६२ हुन्छ । प्रतिशतमा यो ४६ हो । पुरुषको प्रतिशत २७ हो भने महिलाको मात्र प्रतिशत १८.९५ छ । सोहीअनुसार ५१ देखि ६५ वर्ष उमेर समूहको उम्मेदवार संख्यामा पुरुष २६ हजार ५१५ र महिला १० हजार ५३९ छ । दुवै जोड्दा यो संख्या ३७ हजार ५४ हुन्छ । प्रतिशतमा यो २५.५५ हो । पुरुषको मात्र १८ प्रतिशत हो भने महिलाको प्रतिशत ७ हो ।

त्यस्तै, ६५ भन्दा माथि उमेर समूहका उम्मेदवारको संख्या पाँच हजार ५२७ छ । यसमा पुरुष चार हजार ३५० र महिला उम्मेदवार संख्या एक हजार १७७ छ । यसलाई प्रतिशतमा हेर्दा ३.८१ हुन्छ । त्यस्तै, परुषको मात्र प्रतिशत २.९९ हो भने महिलाको प्रतिशत ०.८१ छ । यसपल्ट जति युवाको उपस्थिति देखिएको छ यसलाई अझ बढाउन आवश्यक छ । यो निर्वाचनमा युवाको भूमिका सशक्त हुँदै गएको देखिएको छ । जबसम्म नेतृत्वकर्ता शैक्षिक एवं सामाजिक रूपमा मजबुत व्यक्ति हुँदैन तबसम्म समग्र विकासका लागि आवश्यक कदम उठाउँन सक्दैन ।

यस चुनावको राम्रो पक्ष भनेको युवाको उपस्थिति, जोशमा परिवर्तनको चाह मतदाताले राखेको पाइयो । पढेलेखेका डिग्री धारण गरेका जोशीला युवाको चुनावी मैदानले लोकतन्त्रलाई अझ सुदृढ गर्न पक्कै सघाउने छ भन्ने विश्वास लिन सकिन्छ । फेरि पनि भन्छु देशका खातिर अब युवा सशक्त रूपमा आउन जरुरी छ । अन्यथा ढिलो भइसक्ने छ । म यस लेखमार्फत पनि देशका सबै युवालाई आफूलाई बुझेर अघि बढ्न आहृवान गर्दछु ।

तपाईंहरूको काँधमा नै देशको जिम्मेवारी छ यसलाई पूरा गर्नुहोस् । यो इतिहासले सुम्पिएको जिम्मेबारी पूरा गर्न युवापंक्ति राजनीतिमा मात्र होइन हरेक क्षेत्रमा अगाडि आउनुपर्छ । सबैलाई साथ लिएर अघि बढ्नुपर्छ । विदेशमा आफ्नो समृद्ध होइन देशमै आफ्नो समृद्धिको सपना देख्नुपर्छ । फेरि पनि यही आहृवान गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?