मध्यपुर थिमिमा गठबन्धनका मेयर सुरेन्द्र विजयी

Read Time = 4 mins

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हात पारेको छ । दुई वटा वडाअध्यक्ष नेकपा एमाले र एउटामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भए ।

मध्यपुर थिमिमा प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नै ज्वाइँ एवं निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गर्नुभएको छ ।गठबन्धनकातर्फबाट उम्मेदवार बन्नुभएका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्दी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गर्नुभयो ।

२०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित हुनुभयो । मदनसुन्दरले १४ हजार मत पाउनुभएको थियो। यसपटक एक्लै चुनावी मैदानमा उत्रेको एमालेले मध्यपुर थिमिमा प्रमुख र उपप्रमुख दुवै गुमाउन पुग्यो ।

उपप्रमुखमा पनि गठबन्धनका विजयकृष्ण श्रेष्ठ निर्वाचित हुनुभयो । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार एक सय दुई मत ल्याई विजयी हुँदा उहाँका निकटम प्रतिद्वन्दी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार आठ सय ६३ मतमा सिमित हुनुभयो ।

मध्यपुर थिमिको नगरसभामा गठबन्धनले करिव दुई तिहाई सिट जितेको छ । मध्यपुर थिमिको ४७ सदस्यीय नगरसभामा गठबन्धनले २९ सिट जितेको छ भने नेकपा एमालेले १३ र नेमकिपाले ४ सिट जितेको छ ।

नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाअध्यक्ष र १८ जना नगरसभा सदस्यसहित बहुमत सिट जितेको छ । कांग्रेसले वडा नं. १ मा वडाअध्यक्षसहित ४, वडा नं. २ मा वडाअध्यक्षसहित दुई , वडा नं. ३ मा वडाअध्यक्षसहित चार, वडा नं. ४ मा एक सदस्य, वडा नं. ५ मा वडाअध्यक्षसहित तीन, वडा नं. ६ मा वडाअध्यक्षसहित चार सदस्य जितेको हो । त्यसैगरी वडा नं. ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं. ९ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नं. ६ मा एक र वडा नं. ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं. १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं. ३ मा एक सदस्य, वडा नं. ४ मा वडाअध्यक्षसहित ४, वडा नं. ५ मा दुई सदस्य, वडा नं. ७ मा वडाअध्यक्षसहित ३ सदस्य जितेको छ ।

नेमकिपाले वडा नं. ८ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?