नेपाल र अफगानिस्तान विरुद्धको खेल रद्द

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल र अफगानिस्तान बीचको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ । एएफसी एसियन कप छनोट अघि नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तय थियो । तर, अफगानिस्तानको टोली कतार आउन नमानेपछि उक्त दुई खेल रद्द भएको हो ।

खेलका लागि नेपाली टोली कतार जाने तयारीमा थियो । दोहामा ती दुई मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुने तालिका थियो । अफगानिस्तानको टोली नआउने भएपछि नेपालले स्थानीय क्लबसँग खेल्ने तयारी गरिरहेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । कतारबाटै नेपाली टोली कुवेत जानेछ । नेपालले यसअघि नै नेपाली टोली घोषणा गरिसकेको छ । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षकसँग विवाद भएर प्रशिक्षण बाहिर रहेका ११ खेलाडी बाहिरै छन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टोली घोषणा गर्नुभएको हो । नेपाली टोलीको गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा, डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल, मिडफिल्डरमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी र फरवार्ड आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ हुनुहुन्छ ।

मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए । उक्त विरोध गर्ने रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामालाई टोलीबाट हटाइएको छ ।

एफसी छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?