एनआरएनएद्वारा बजेटको स्वागत

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी आर्थिक वर्ष २०७९/०८० बजेटको स्वागत गरेको छ । बजेटमा एनआरएनएले उठाउँदै आएका माग सम्बोधन भएको भन्दै स्वागत गरेको हो । बजेटमार्फत् नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड कायम गर्नुका साथै १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट हुने व्यवस्था स्वागतयोग्य रहेको एनआरएनएले जनाएको छ ।

त्यसैगरी धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने र वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था पनि स्वागतयोग्य रहेको जनाएको छ । उत्पादनमूलक एवं निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न एवं गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानुन तथा प्रक्रियामा सुधार, उद्योग स्थापनाका लागि आवश्यक जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरवलोकनका साथै उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिने व्यवस्था, सार्वजनिक ऋणलाई उच्च प्रतिफल प्राप्त हुने आयोजना एवं राष्ट्रिय पुँजी निर्माण क्षेत्रमा परिचालनका लागि आन्तरिक ऋण परिचालन गर्दा वैदेशिक रोजगारीमा गएका नागरिक र गैरआवासीय नेपालीलाई लक्षित गरी ऋणपत्र जारी गरिने व्यवस्था पनि स्वागतयोग्य रहेको बताइएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगार सम्बद्ध सेवा अनलाइन प्रणालीमार्फत् प्रदान गर्न व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई टेलिमेडिसिन सेवा प्रवाह गर्न आवश्यक व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सञ्चित लगानी कोष सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई राहदानी नवीकरण, कन्सुलर सेवा तथा श्रम स्वीकृति नवीकरणबापत लाग्ने शुल्क वा दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि सकारात्मक रहेको एनआरएनएले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई सहुलियतपूूर्ण ऋणको व्यवस्था, विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदलगायतका व्यवस्था पनि स्वागतयोग्य रहेको एनआरएनएका तीन अध्यक्षद्वारा संयुक्तरूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै एनआरएनएले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन यथाशीघ्र हुने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ । संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा र डा. बद्री केसी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?