काठमाडौं । नेपालले आइसिसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कतारमाथि ७९ रनको सानदार जित हात पारेको छ । शुक्रबार भएको खेलमा जितका लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा ३८ रनमा अल आउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।
कतारको कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४-१४ रन बनाउनुभयो । यस्तै अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सक्नुभएन । कतारका सात खेलाडीले खाता नै खोल्न सक्नुभएन ।
नेपालकी सृष्टि जैशीले चार ओभरमा एक मेडनसहित पाँच रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै अनु कडायत २.४ ओभरमा दुई रन खर्चेर दुई विकेट लिनुभयो । कप्तान कृतिका मरासिनीले दुई ओभरमा एक मेडनसहित नौ रन खर्चेर दुई विकेट तथा स्नेहा महराले चार ओभरमा एक मेडनसहित सात रन खर्चेर दुई विकेट हात पार्नुभयो ।
त्यसअघि पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११७ रन बनाएको थियो । नेपालकी अश्मा पुलामी मगरले ३९ बलमा ३२ रन जोड्नुभयो । यस्तै सृष्टि जैशीले १९ बलमा एक चौकासहित २३ तथा सनु राजवंशीले ४४ बलमा २१ रन जोड्नुभयो । अञ्जली विश्वकर्माले ११ रन थप्नुभएको थियो ।
नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टी-२० महिला विश्वकप खेल्नमा छनोट हुनेछ ।
नेपाली यू-१९ महिला टोलीमा कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टि जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रवीन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जलि विक, अनु कडायत र सुस्मिता भुसाल रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच