कार्यकाल ६ महिना जति बाँकी रहँदा किन मन्त्री हेरफेर कै निर्णयमा पुग्यो एकीकृत समाजवादी ?

फाइल तस्वीर

Read Time = 3 mins

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरिएको एकीकृत समाजवादीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको छ ।

नेकपा एमालेबाट विभाजित भएर नयाँ दल बन्ने बेलामा नेता नेपाललाई साथ दिएका मध्ये झाँक्री, आले र श्रेष्ठ बढी चर्चामा हुनुहुन्थ्यो। उहाँहरुलाई पहिलो चरणमा मन्त्री बनाइएको थियो । मेटमणि चौधरी पनि मन्त्री बन्ने चर्चा भएको भए पनि त्यति बेला उहाँ सूचीमा अटाउनु भएन । अन्तिम अवस्थामा मन्त्री बन्न नपाएपछि उहाँले पैसा नभएर मन्त्रीमा नपरेको भन्ने गुनासो समेत गर्नुभएको थियो ।

तर, आगामी प्रतिनिधि सभा चुनाव कात्तिक–मंसिरमा हुने गरि छलफल गठबन्धनमा चर्चा चलिरहेको हल्ला खल्ला नगरी एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ जसलाई महत्वका साथ हेरिएको छ ।

अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया रहेको बताउनु भएको छ । उहाँले, ‘यो नियमित प्रक्रिया हो। सुरुदेखि नै ६ महिना भनेर उहाँहरुलाई जिम्मेवारी दिइएको हो ।’

तर, यसलाई आगामी संघीय निर्वाचन लक्षित ठानिएको छ । एकीकृत समाजवादीका एक नेताका अनुसार चुनावमा जनमत भएकालाई मन्त्री बनाइएको हो । जनमत बलियो भएकालाई मन्त्री बनाएर अवसर दिइएको उनको भनाइ छ । सवैलाई मन्त्री बनाउनका लागि एकीकृत समाजवादीले ६ महिना भन्दा कम समयका लागि नयाँ मन्त्री बनाएर अस्थिरता निमत्याएको भन्दै आलोचना समेत भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?