छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

Read Time = 3 mins

काठमाडौं । सुनसरी, बारा, सप्तरी, महोत्तरी र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

सुनसरीको दुहवी नगरपालिका–५ बुढीपुलस्थित सडकमा यूपी ५७ एटी ३८३७ नम्बरको ट्रकले को।२८ प ८५४४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–२० बस्ने ५८ वर्षीया कृष्ण कुमारी खवास रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सडकमा ना १ ज ७७६६ नम्बरको म्याजिकले ना ५३ प ९१३४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने ३६ वर्षीय सदाम हुसेन ठकुराइ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामास्थित सडकमा ना २ ख ९२१० नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साईकलयात्री सोही नगरपालिका–३ बरमझियाको तत्मा टोल बस्ने ३० वर्षीय चन्देश्वर दास रहेका छन् । उनको बिहीबार साँझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एमडिएस अस्पताल रुपनगर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरीको बर्दिवास नगरपालिका–३ कारेभोगटे पुलमा ना।५४ प ८९५४ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्य कुमार मिस्त्री रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका–३ बस्ने २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोलास्थित सडकमा बा ५ ख ७८४३ नम्बरको बसको ठक्करबाट सोही बसका सहचालक सुनसरी झुम्का बस्ने २३ वर्षीय जनक दाहालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?