नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कोरोना पछाडि नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । दुई वर्षयता नेपाल भित्रने पर्यटकको संख्यामा १० प्रतिशतको वृद्धि भएको तथ्यांकले देखाएको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पर्यटक नेपाल आएका हुन् । अहिले नेपाल आएका पर्यटक अघिल्लो दुई वर्ष यताकै उल्लेख्य रहेको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा नेपालमा एक लाख ९३ हजार ९४४ जना पर्यटक आएका छन् । सोही अवधिमा नेपालबाट एक लाख ८३ हजार ६७५ जना पर्यटक स्वदेश फर्किएका छन् ।

विश्वमा कोरोना महामारी सुरु भएपछि रोकिएको पर्यटकको आगमन पछिल्ला महिनाहरूमा विस्तारै बढ्न थालेको छ । कोरोनाको खोप प्रयोगमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको हो । कोरोना महामारीका कारण सन् २०२१ मा मात्र एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएका थिए ।

अघिल्लो एक वर्षमा आएकाभन्दा बढी पर्यटक पछिल्लो पाँच महिनामा नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । सन् २०२० मा नेपालमा दुई लाख ३० हजार ८५ जना पर्यटक आएका थिए । विभागका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ९६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका छन् ।

तर, नेपाल भित्रिएका पर्यटकमा झण्डै आधा भारतीय पर्यटक छन् । उनीहरू नेपाल आउँदा भिसा चाहिँदैन । अझ धेरैजसो त तीर्थयात्री छन् । जो आफैँ भाँडाकुँडा बोकेर पायक पर्ने ठाउँमा खाना पकाएर खान्छन् । त्यसबाहेक अन्य देशका पर्यटक कम खर्च गर्ने खालका नै आएको देखिन्छ । मालदिभ्समा आउने पर्यटकले औसतमा प्रतिदिन १५० डलर खर्च गर्छन् । त्यस्तै, भुटानमा आउने पर्यटकले प्रतिदिन २५० डलर खर्च गर्छन् भने भारतमा आउने पर्यटकले एक सय डलरको हाराहारीमा खर्च गर्छन् । नेपालमा भने पर्यटकले प्रतिदिन औसत ३० डलर खर्च गर्छन् । अझ नेपालमा पर्यटकको औसत बसाइ पनि यी देशको तुलनामा निकै कम छ । त्यस्तो अवस्थामा पनि हाल बढेको पर्यटकको अवस्थालाई हेर्दा राम्रै मान्नुपर्ने विभागले जनाएको छ ।

नेपाल भित्रिएका पर्यटकमा सबैभन्दा बढी भारतका रहेका छन् । भारतबाट यो अवधिमा ५५ हजार पाँचजना पर्यटक नेपाल भित्रिएका छन् । भारतपछि पर्यटक बढी भित्रिने मुलुक अमेरिका हो । अमेरिकाबाट यो अवधिमा ६ हजार ७९३ जना पर्यटक नेपाल आएका छन् । त्यसपछि बेलायत, बंगलादेश, चीन, जर्मनी, क्यानडा, फ्रान्स अष्ट्रेलिया लगायतका देशका रहेका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यकै बीच सुरु भएको कोरोनाको कारण पर्यटन व्यवसाय नराम्ररी थला परेको थियो । विभिन्न देशले पर्यटकको संख्या बढाउन निकै महँगा भौतिक संरचनामा लगानी गरेका छन् । तर, नेपालमा अद्वितीय प्राकृतिक सौन्दर्य र विशिष्टता छ तथा सांस्कृतिक वैभवले सम्पन्न छ । यहाँ विशेष लगानीबिना पनि पर्यटक आकर्षित गर्न सकिन्छ । त्यसैले नेपालले प्रकृति, संस्कृति र साहसमा आधारित पर्यटनमा जोड दिनुपर्छ । तस्बिर सौजन्य : गगनराज न्यौपाने

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?