विद्युतीकरणले घट्यो टुकीको प्रयोग

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । “मैले १७ वर्षको उमेरमा नुन ल्याउन जाँद सुनौलीमा पहिलो पटक बिजुली बत्ती देखेको थिएँ, अहिले त तल बेसी तिर पनि झिलिमिली छ ।” बागलुङको निसीखोला गाउँपालिका-५ का पितराम घर्ती मगर अहिले निसेलढोरमा बस्नु हुन्छ । कहिलेकाही निसी गाउँमा झर्नु हुन्छ । निसी गाउँमा बिजुलीको सुविधा छ तर निसेलढोरमा अहिलेसम्म पुगेको छैन । अहिले उहाँले निसेलढोरमा सौर्य उर्जा (सोलार बत्ती) बाल्दै आउनु भएको छ । उहाँले दिनभरी घाम लाग्दाको रात सोलार बत्ती बल्नु हुन्छ । बर्खाको समयमा भने दियालो र टुकीकै भरमा रात कटाउनुहुन्छ ।

एक दशक अगाडिसम्म दियालो र कुटीकै भरमा रात कटाउने पितराम अहिले सोलार बत्ती बल्न पाउँदा हर्षित हुनुहुन्छ । पिताराम मात्रै होइन, बागलुङको अधिकांश क्षेत्रका नागरिकले टुकीको भरमा रात कटाउँथे । यद्यपी अहिले पनि केही बस्तीमा विद्युतको पहुँच छैन तर उनीहरुले टुकीको सट्टा वैकल्पिक ऊर्जाको प्रयोग गर्छन् । पछिल्लो समय दुर्गम गाउँसम्म विद्युत विस्तार र वैकल्पिक ऊर्जाको प्रयोग बढ्न थालेसँगै टुकी र दियालो बाल्ने परम्परा लोपोन्मुख भएका छन् । जिल्लाको ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत पुगि नसके पनि पहिलेको जस्तो मट्टितेल बजारमा पाइँदैन ।

कुनै बेला एक लिटर मट्टितेल पाउनका लागि घण्टौँ लाइन बस्ने स्थानीयलाई अहिले त्यसको चाख छैन । बेसीमा बिजुली बत्ती र लेकमा सोलार बत्तीले रातलाई पनि उज्यालो बनाएको पितराम बताउनुहुन्छ । अहिलेसम्म बिजुली बत्ती नपुगेका ठाउँमा सोलार बत्ती र अन्य इलेक्ट्रोनिक लाइटहरु पुगेको उहाँको भनाइ छ । पहिले आफूहरुले रातीमा उज्यालो पार्नका लागि दिनभरी दियालो, दाउरा र भाँङ बटुल्ने गरेको स्मरण गर्दै अहिले त्यस बेलाको जस्तो झण्झट गर्न नपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ - “समयले धेरै फड्को मारेछ, कस्ता अन्धकार थिए हाम्रो जमाना, अहिले झिलिमिली छ, गाउँ-गाउँमा बिजुली आएको छ, कति ठाउँमा जडान हुँदैछ, हाम्रो पालामा कसैको घरमा बिजुली बत्ती थिएन, सोलार पनि आएका थिएनन्, धनिमानीले मट्टितेल लिएर टुकी बाल्थे, हामीहरुले त उही दाउरा र दियालो बाल्थ्यौँ, पछि-पछि तेलको मूल्य सस्तो भएपछि गाउँ भरिकाले टुकी माल्न थालेका थिए, अहिले त टुकी बाल्ने चलननै हरायो ।”

अहिले पनि जिल्लामा २१४ परिवारमा विद्युतको सुविधा पुगेको छैन । उनीहरु टुकी र सौर्य ऊर्जाकै भरमा छन् । जिल्लाको धेरै स्थानमा अझै पनि केन्द्रीय विद्युत पुगेको छैन । तर लघु जलविद्युत भने अधिकांश ठाउँमा छन् । अहिले बागलुङमा ६२ हजार दुई सय २८ परिवारमा बिजुलीको पहुँच छन् । तमानखोला गाउँपालिका-३ का रनबहादुर रोकाले मट्टितेलबाट बत्ती बाल्न छोडेको एक दशक भएको बताउनुभयो । १० वर्ष अगाडिसम्म टुकी बाले पनि त्यस यता सोलार बत्ती बाल्न थालेको बताउनुभयो ।

“अहिले ७४ वर्ष भएँ, ६४ वर्षसम्म मैले टुकी बालेरै रात कटाएको हुँ, म धेरै जसो गोठमा बस्ने हुँदा यहाँ बिजुली आएको छैन, पहिलो पटक सोलार बत्ती बाल्दा निकै खुसी लागेको थियो, मट्टितेल बिना पनि बत्ती बल्दो रैछ जस्तो लाग्थ्यो,” उहाँले भन्नुभयो - “अहिले जताततै बिजुली आए, गाउँ झिलिमिली भए, विकास हुन धेरै समय लाग्दो रैनछ, अहिले त बिजुली नपुगेको गाउँ छैन, जता हे¥यो उतै बिजुलीको झिलिमिली छ, अहिले त पहिलेको जस्तो टुकी भेटिन पनि छोड्यो ।”

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले जिल्लाका सबै बस्तीहरुमा केन्द्रीय प्रशारण लाइन जोड्न थालेको बताउनुभयो । जिल्ला सदरमुकामसँग जोडिएका पालिकाहरुमा केही वर्ष पहिलेनै केन्द्रीय लाइनले जोडिए पनि पश्चिम बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा काम सुरु गरेको उहाँको भनाइ छ । अगामी दुई वर्ष भित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्ने पौडेल बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?