‘कबड्डी ४’ बौद्ध धर्मको मानमर्दन गरेको भन्दै प्रशासनमा उजुरी

Read Time = 3 mins

काठमाडौं । प्रदर्शनरत नेपाली चलचित्र ‘कबड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार चलचित्रविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभएको छ ।

निवेदक लामाले चलचित्रको प्रदर्शन रोक्नसमेत माग राख्नुभएको छ । उहाँले दृश्य काँटछाँट गर्न पनि माग गर्नुभएको छ । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

उजुरीमा लामाले उल्लेख गर्नुभएको छ, ‘कबड्डी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरू बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पुर्‍याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुँदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’

रामबाबु गुरुङ निर्देशित चलचित्रले प्रदर्शनको १६ दिनसम्म २० करोड रुपैयाँ बढी ग्रस कमाइ गरेको छ । अहिले पनि विभिन्न हलमा यो चलचित्र हाउसफुलका साथ प्रदर्शन भइरहेको छ ।

नेपाली चलचित्र इतिहासमै यो पहिलो चलचित्र हो जसले रिलिजको १६ दिनमा २० करोड ग्रस कलेक्सन गरेको छ । चलचित्रलाई बिग मुभिजले १७ र एफक्युबले पनि १७ शो दिएका छन् । कीर्तिपुर हलमा ६ वटा शो सबै हाउसफुल छन् । यसअघि बलिउड फिल्म केजिएफले ८० शो पाएको थियो । बलिउडले पाएको शोको रेकर्ड ब्रेक गर्दै चलचित्र ‘कबड्डी ४’ ले ९० भन्दा बढी शो पाएको छ ।

चलचित्रमा दयाहृयाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारीलगायतको अभिनय रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?