अर्थले पठाएन बजेट, झापाका सातवटा नदीमा तटबन्ध निर्माण कार्य रोकियो

हिमालय टाइम्स
Read Time = 6 mins

पार्थ मण्डल/हिटा
झापा । अर्थ मन्त्रालयले बजेट नपठाउँदा झापा जिल्लाका नदी तथा खोला नियन्त्रण (तटबन्ध)को काम प्रभावित बनेको छ । बाढीबाट प्रभावित क्षेत्रको पहिचान गरी जनताको तटबन्ध कार्यक्रम झापाले गत माघदेखि जिल्लाका सातवटा नदीमा एकैपटक तटबन्धको काम सुरु गरेका थिए । अर्थ मन्त्रालयले तटबन्धको काम सुरु गर्नु भनी जनताको तटबन्ध कार्यक्रम झापासँग लिखित रूपमै सहमति जनाएका थिए ।

सोही सहमतिअनुसार झापाका सातवटा नदीमा तटबन्धको काम सुरु गरेको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख रूपनारायण अधिकारीले बताउनुभयो । ‘तर, अहिले आएर अर्थ मन्त्रालयले आफैँले गरेको सहमति तोड्दै एक रुपैयाँ पनि बजेट पठाएन,’ कार्यक्रम प्रमुख अधिकारीले भन्नुभयो, ‘तटबन्धका लागि टेण्डर प्रक्रियाबाट ठेक्का लगाएर काम धमाधम गरिरहेका थियौँ, अर्थले बजेट नपठाउँदा १६ करोड बढी रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी देखिन्छ ।’

पहिलो किस्ता बापतको रकमसमेत नदिएको निर्माण कम्पनीले भुक्तानीका लागि दबाब दिइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘मनसुनअघि नै सक्नुपर्ने काम निर्माण कम्पनीहरूले अधुरै छाड्न थाले, भुक्तानी दिन नसक्दा हामीले पनि निर्माण व्यवसायीलाई दबाब दिने कुरा आउँदैन ।’ जिल्लाको बाढी प्रभावित तथा कटान क्षेत्रको पहिचान गरी नदीहरू तटबन्ध बनाउनुपर्ने भन्दै अर्थसँग जनताको तटबन्ध कार्यक्रम झापाले २९ करोड बजेट माग गरेको थियो । अर्थले काम सुरु गरिहाल्नु, बजेट विस्तारै पठाउने सहमति जनाएकोमा हाल आएर बजेट रोक्दा थप समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

झापाको मेची, देउनियाँ, तिरिङ, कनकाई, मावा, कमल र रतुवा नदीमा तटबन्धको काम भइरहेको छ । सातवटा नदीमा समग्र करिब ६ देखि ७ किलोमिटरसम्म तटबन्ध काम थालिएको छ ।

महानिर्देशक सहितको टोलीद्वारा अनुगमन

जिल्लामा तटबन्धको कामको अवस्था बुझ्न जलस्रोत तथा सिञ्चाइ विभागका महानिर्देशक सुशील चन्द्र आचार्य, उपमहानिर्देशक कृष्णप्रसाद नेपाल, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलगायत चार जनाको टोलीले १५ दिनअघि स्थलगत अनुगमन गरेर फर्किएका छन् । मन्त्रालयबाट आएको टोलीले जेठ १५ र १६ गते सातवटै नदीमा पुगेर तटबन्ध कामको प्रगति, अवस्था र थप गर्नुपर्ने अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख रूपनारायण अधिकारीले बताउनुभयो ।

‘जिल्लामा भइरहेको तटबन्ध कामको उहाँहरूले प्रशंसा गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘अर्थले बजेट नपठाउँदा कामले तीव्रता नपाउनुका साथै थप समस्या उत्पन्न भएको बारेमा उहाँलाई पनि जानकारी गराइसकेको छु ।’ ‘उहाँहरूले पनि अर्थसँग यस बारेमा बुझेर रोकिएको बजेट पठाउन मन्त्रालयबाटै पहल गर्ने आश्वासन दिनुभयो,’ उहाँले भन्नुभयो ।

बाढीको जोखिममा स्थानीय
अघिल्लो वर्ष कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिकाका स्थानीय जोखिममा परेका थिए । बाढीका कारण त्यहाँका सयौँ घरपरिवार विस्थापित नै भए । त्यही जोखिमलाई लक्षित गरी बाढी पसेको स्थानमा यस वर्ष तटबन्धको काम थालिएको छ । तर, बन्दै गरेको तटबन्ध काम अधुरो रहँदा खतरा ज्यूका त्यू रहेको स्थानीय बुद्ध हेमरमले बताउनुभयो । ‘गत वर्ष बेमौसमी बाढीका कारण विस्थापित बनेका बस्ती अहिले पनि जोखिममै छ,’ उहाँले भन्नुभयो, ‘बस्ती जोगाउन र कटान रोक्न नदीमा पूरै बाँध निर्माण गर्नुपर्छ ।’

गौरीगञ्ज १ टप्पु बस्ती देविगाडा क्षेत्रमा हाल तटबन्ध निर्माणाधीन अवस्था छ । तर, पूरा तटबन्ध निर्माण गर्न बजेट नहुँदा समस्या भएको जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । झापामा हरेक वर्ष बाढीले क्षति पुर्‍याउँदै आएको छ । कतिपय क्षेत्रमा उचित व्यवस्थापन हुन नसक्दा बाढीको जोखिम त्यस्तै छ । यस वर्ष पनि मनसुन सुरु भइसकेको छ । खोला तथा नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । सरकारले समयमा बजेट नपठाउँदा नदी नियन्त्रणको काम सम्पन्न हुन सकेन, जसले गर्दा बाढी प्रभावित क्षेत्रका बासिन्दा चिन्तित देखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?