रोपाइँको समयमा देशभर रासायनिक मलको हाहाकार, आक्रोशित स्थानीयले लुटे धादिङमा ट्रकबाटै मल

हिमालय टाइम्स
Read Time = 6 mins

बाबुराम श्रेष्ठ/हिटा
धादिङ । रोपाइँको सिजन सुरु भइसक्दासमेत देशैभर मलको हाहाकार भएको छ । मुलुकमा मलको आपूर्ति गर्ने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका जिल्ला–जिल्लामा रहेका भण्डारण मात्रै होइन, केन्द्रको गोदाम नै रित्तिने अवस्थामा पुगेका छन् । सरकारले केही दिनमै मल आपूर्ति हुन्छ भनिरहँदा किसान भने त्यसप्रति विश्वस्त देखिएका छैनन् । त्यस्तोमा यो वर्ष पनि रोपाइँका बेला किसानले मलको चरम अभाव व्यहोर्नुपर्ने देखिएको छ । देशभर करिब साढे तीन लाख मेट्रिकटन मल आवश्यकता पर्ने कृषि मन्त्रालयको तथ्यांक छ । अहिले सबैभन्दा बढी माग युरिया मलको छ । जेठ र असार धान खेतीको मुख्य सिजन हो ।

यो वर्ष वर्षा छिट्टै हुँदा अधिकांश पहाडी क्षेत्रका किसानले रोपाइँ सुरु नै गरिसकेका छन् । तराईका केही जिल्लामा भने पर्याप्त वर्षा नहुँदा रोपाइँ सुरु हुन सकेको छैन । त्यस्तोमा जिल्ला जिल्लामा रहेका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले रासायनिक मल विभागमा माग गरेर पठाइरहेका छन् । विभागले पनि आवश्यकताअनुसार थोरै थोरै मल बाँडफाँड गरिरहेको जनाएको छ, जुन पर्याप्त छैन ।

समयमै मल नपाएर भौतारिरहेका धादिङका किसानहरूले शनिबार धार्केबाट ट्रकबाटै रासायनिक मल कब्जा गरेका छन् । मल बोकेर काठमाडौं जाँदै गरेका दुईवटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । ट्रकमा रहेको मल भारतबाट भन्सार छली ल्याइएको भन्ने बुझिएको उपरीक्षक भण्डारीले बताउनुभयो ।

‘भन्सार छलेको भन्दै राजस्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले मल कब्जा गरेर घरतिर लगेका हुन् । सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेका थिए । तर, उनीहरूले झण्डै पाँच सय बोरा हाराहारी मल घरतिर लगेका छन्, हिमालय टाइम्ससँग कुरा गर्दै उपरीक्षक भण्डारीले बताउनुभयो । यता राजस्व विभागले पनि सो कुराको पुष्टि गरेको छ । धुनिबेशी नगरपालिका-६ धार्केस्थित पूर्व-पश्चिम राजमार्ग हुँदै काठमाडौं ल्याइरहेको मल बोकेका दुईवटा ट्रक स्थानीयले रोकेका हुन् ।

किसानले १५ सयमा पाउँदै गरेको मल अहिले २२ सय तिर्न बाध्य भएका छन् । अरू समयमा ‘एक बोरा मल १५ सयमा पाइन्छ । तर, अहिले २२ सय तिर्दासमेत मल पाउन सकेको छैन एक किसानको भनाइ छ । साल्ट ट्रेडिङले पनि १५-२० दिनमा २० बोरा, १५ बोरा दिन्छ । अरू व्यापारीहरूले अवैध तरिकाले ल्याएर बिक्री गर्छन् । २२ सय नै तिर्छु भन्दा पनि नपाइने अवस्था छ ।’

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत कृषि सहकारीहरूलाई मात्र रासायनिक मलको बिक्री वितरणको अनुमति दिएको भए पनि आवश्यक मात्रमा सहकारीहरूलाई मल आपूर्ति गर्न नसक्दा किसानहरूले हरेक वर्ष समस्या झेल्दै आएका छन् । धादिङका ५९ वटा सहकारीहरूलाई युरिया, डिएपी र पोटास गरी करिब २७ सय मेट्रिक टन रासायिनक मल वितरण गरिएको कृषि सामग्री कम्पनी शाखा कार्यालय गजुरीकी प्रमुख शर्मिला घिमिरेले बताउनुभयो । धादिङबेसीमा रहेको नीलकण्ठ सहकारीमार्फत धादिङको मध्यक्षेत्रमा मल वितरण हुँदै आए पनि किसानहरूले सहजै मल पाउन सकेका छैनन् ।

करिब २५ सय बोरा मल आवश्यक परेकोमा कृषि सामग्री कम्पनीले न्यून मात्रामा मल पठाएकाले वितरणमा समस्या भएको सहकारीका अध्यक्ष बलराम श्रेष्ठले बताउनुभयो । कृषि सहकारीमार्फत मात्र वितरण गर्ने सरकारको निर्णय भए तापनि व्यवसायीहरूले मनपरी मूल्यमा रासायनिक मल बिक्री वितरण गरेको किसानहरूको गुनासो छ । कम्पनीले सहकारीलाई युरिया मल प्रतिबोरा ८१७, डिएपी मल प्रतिबोरा २२ सय ६७ र पोटास प्रतिबोरा १६ सय ६६ मा बिक्री गरे तापनि नीलकण्ठ सहकारीले युरिया मल प्रतिबोरा एक हजारमा बेचेको पाइएको छ । मल वितरण हुने भएपछि बिहानैदेखि किसानहरूको भिड लाग्ने गरेको तर मल नपाएको भन्दै किसानहरूले गुनासो गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?