अझै पनि ६४.४ प्रतिशत उद्योगमा जेनेरेटर

Read Time = 4 mins

काठमाडौं । एकातर्फ सरकार बढी भएको विद्युत्को बजारको खोजीमा भौंतारिइरहेको छ भने अर्कोतर्फ विद्युत् अभावमा अझै पनि ६४ प्रतिशतभन्दा बढी स्वदेशी उद्योग जेनेरेटर प्रयोग गर्न बाध्य छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) ले आइतबार सार्वजनिक गरेको नेपालका उद्योगको औद्योगिक गतिविधिको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार अझै पनि ६४.४ प्रतिशत उद्योग जेनेरेटर प्रयोग गर्न बाध्य छन् । विद्युत् आपूर्तिमा आउने समस्याका कारण उद्योगले जेनेरेटरलाई अझै पनि निरन्तरता दिएका हुन् ।

प्रतिवेदनमा चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक समेटिएको छ । सो अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।

अघिल्लो आव २०७७/०७८ को दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशतले बढ्नुका साथै व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन भएको अवधिमा उत्पादनमूलक उद्योगले औसतमा ९.४ प्रतिशत (गत वर्षको सोही अवधिमा ८.६ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा ९.१ प्रतिशत व्याज तिरेका छन् । उत्पादनमूलक उद्योगले आफ्नो चालु पुँजीको ४३.८ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा ५४.१ प्रतिशत ऋण लिएका थिए । अध्ययनमा सहभागीमध्ये ६५.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको जनाएका छन् ।

सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रले थिंक ट्यांकका रूपमा कसरी काम गरिरहेको छ भन्ने प्रतिवेदनले पनि देखाएको बताउनुभएको छ । सिएनआईले सुझावमात्रै दिने नभई उद्योगको यथार्थ चित्रणसमेत प्रतिवेदनमार्फत् प्रस्तुत गर्न खोजेको उहाँको भनाइ छ । अध्यक्ष अग्रवालले सिएनआईले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै थप क्षेत्रलाई अध्ययनमा समेट्दै विस्तृत बनाउँदै लैजाने बताउनुभयो ।

सिएनआईका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र हरेक त्रैमासमा प्रकाशन गर्दै लगिने बताउनुभयो । नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्यांक नभएको अवस्थामा सिएनआईले पहिलोपटक यस्तो प्रतिवेदन तयार गरिएको जनाएको छ । सिएनआईअन्तर्गतको रिसर्च सेलले उद्योगसँगको सर्वेक्षणका आधारमा प्रतिवेदन तयार पारेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?