१२ वर्ष बित्दा पनि बनेन विद्यालय भवन, आक्रोशित विद्यार्थीद्वारा प्रदर्शन

हिमालय टाइम्स
Read Time = 11 mins

पार्थ मण्डल/हिटा
झापा । तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति झापाको लापरबाहीविरुद्ध भद्रपुरस्थित अरनिको माविका विद्यार्थी, शिक्षक तथा अभिभावक संयुक्त रूपमा आन्दोलित बनेका छन् । भारतीय सहयोगमा १२ वर्षअघि ठेक्का लागेको विद्यालय भवन अधुरो छाड्नुमा समन्वय समितिका पदाधिकारीहरूकै लापरबाही देखिएको भन्दै आक्रोशित बनेका उनीहरू आन्दोलनमा उत्रिएका हुन् । विद्यालय भवन बनाउनुपर्ने एकसूत्रीय माग राख्दै आन्दोलित बनेका उनीहरूले सोमबार जिल्ला समन्वय समिति झापाको कार्यालय भवनमा तालाबन्दी गर्नुका साथै दिनभरि धर्ना दिएका छन् ।

समन्वय समितिको कार्यालय भवनमा तालाबन्दीसँगै मुख्य प्रवेशद्वारमै विद्यार्थीहरूले हातमा प्लेकार्ड बोकेर धर्नामा बसेपछि कार्यालयको कामकाज ठप्प बनेको थियो । आन्दोलनको प्रभाव समन्वय समितिको कार्यालय भवनमा रहेको राष्ट्रिय भूमि आयोगको कामकाजमा समेत परेको थियो । गुणस्तरीय शिक्षा हाम्रो अधिकार, किन चासो बढ्ने स्थानीय सरकार ?, ‘कि विद्यालय बनाइदेऊ- कि त कुर्सी छाडिदेऊ’, विद्यालय भवन चाँडो निर्माण गर्, ‘सुरक्षित विद्यालय- बालबालिकाको अधिकार’, भ्रष्टाचारीलाई कारबाही गर् जस्ता नारा लेखेर विद्यार्थीहरू धर्नामा बसेका थिए ।

विसं २०२४ सालमा स्थापना भएको भद्रपुर-३ सूर्यनगरस्थित अरनिको माविको भवन स्तरोन्नतिका लागि भारतीय राजदूतावासले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तत्कालीन जिल्ला विकास समिति झापाले सो विद्यालय भवन बनाउन ठेक्का आ≈वान गरेका थिए । २०६७ सालमा तीन करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएको थियो ।

दुई तले, ३२ कोठे विद्यालय भवनको ठेक्का पारेको राजधानी कन्स्ट्रक्सनले करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन बनाउने काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताउनुभयो । तत्कालीन जिल्ला विकास समिति झापाकै सम्पूर्ण जिम्मेवारी तथा रेखदेखमा सुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत चार वर्षदेखि ठप्प बनेको प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताउनुभयो । ‘जनप्रतिनिधिविहीन अवस्थामा विद्यालय भवनको ठेक्का लागेको हो,’ प्रअ खरेलले भन्नुभयो, ‘जनप्रतिनिधि आएर पाँच वर्ष शासन चलाएर गइसक्यो, अर्को जनप्रतिनिधि निर्वाचित भएर आइसक्दा पनि निर्माणाधीन विद्यालय भवन लथालिंग नै छ ।’

विद्यालय भवनको काम सुचारु गराउन भनी समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल र भद्रपुर नगरपालिकाका निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठलाई दर्जनौँपटक भेटेर मौखिक तथा लिखित रूपमै जानकारी गराइसकेको बताउँदै उहाँले भन्नुभयो, ‘सत्तामा बस्दा उहाँहरूले अब बन्छ भन्दै आश्वासन मात्र देखाएर जानुभयो, अब धैर्यताको सीमा नाघेपछि बाध्य भएर तालाबन्दीसँगै धर्ना कार्यक्रममा उत्रिनु पर्‍यो ।’

अब पनि विद्यालयको माग सम्बोधन नभए सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेर संघर्षमा उत्रिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेर तामाङले चेतावनी दिनुभयो । ‘समन्वय समितिका प्रमुख पोर्तेलले यतिका दिनसम्म आश्वासन दिएर शिक्षक र अभिभावकलाई झारा टार्ने काम मात्र गर्नुभयो,’ अध्यक्ष तामाङले भन्नुभयो, ‘अहिले कार्यकाल सकिन लाग्दा उहाँले समन्वय समितिले अधुरो विद्यालय भवनको जिम्मा नगरपालिकालाई दिने प्रक्रिया अघि बढाउनेतर्फ लाग्नुभयो, तर नगरपालिकाका निवर्तमान प्रमुख श्रेष्ठले अधुरो भवन हामीले जिम्मा लिन मिल्दैन भनेपछि त्यो प्रक्रिया पनि अघि बढ्न सकेन ।’ स्थानीय सरकारबाट पनि सहयोग र साथ नपाउँदा विद्यालय भवन फेरि पनि अलपत्र नै हुने भयो । यो सरासर समन्वय समिति प्रमुखको लापरबाहीले भएको उहाँले आरोपसमेत लगाउनुभएको छ ।

समन्वय समिति र नगरपालिकाबीच आर्थिक भुक्तानी दिने बारेमा भित्री कुरा नमिल्दा प्रक्रिया अघि बढ्न नसकेको उहाँको भनाइ छ । विद्यालय भवनको अवस्था एकदमै नाजुक रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिका पूर्व-अध्यक्ष प्रदीप सुवेदीले भन्नुभयो, ‘अलपत्र भवनको बारेमा जिल्लादेखि काठमाडौंसम्म डेलिगेसन जाँदा पनि हाम्रो माग सुनवाइ भएन ।’ भारतीय राजदूतावासबाट खटिएका टोली नै आएर विद्यालयको भवनको अनुगमन गरेर गएको पनि तीन वर्ष बित्यो । ‘त्यसबेला राजदूतावासले भुक्तानीका लागि पैसा रोकिँदैन भन्ने जानकारी पायौँ,’ उहाँले भन्नुभयो, ‘समन्वय समितिले त्यसतर्फ खासै चासो नदेखाउँदा भवन बन्न नसकेको हो ।’

इता, भवन नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल वातावरण नहुनुका साथै कक्षा कोठाहरूमा झ्याल, ढोका र घेराबारासमेत छैन । कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन, खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । बर्खामा कक्षा कोठाभित्रै पानी पस्छ, गर्मीमा विद्यार्थीलाई कोठामा राखेर पढाउनै सकिँदैन प्रअ खरेलले बताउनुभयो । ठेकेदार लामाले भवनको जिम्मा पेटी ठेकेदार प्रकाश सिंहलाई दिएको छ । काम गरेको करिब ५० लाख रुपैयाँ समन्वय समितिसँग ठेकेदारले पाउने बुझिएको छ । समन्वय समितिले म्याद थप नहुँदासम्म भुक्तानी प्रक्रिया अघि बढाउन नसक्ने भन्दै ठेकेदारको रकमसमेत रोकिदिएको छ ।
आन्दोलनले जिल्लासभा रोकियो

भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष सहितको उपस्थितिमा समन्वय समिति झापाले सोमबार बिहान ११ बजे जिल्लासभा डाकेको थियो । विद्यार्थी, शिक्षक र अभिभावक आन्दोलित बन्दै तालाबन्दी र धर्नामा बसेपछि समितिले डाकेको जिल्लासभा रोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय समन्वय समिति गठनका लागि कार्यालयलाई पत्राचार गरेको समन्वय अधिकारी लालबहादुर श्रेष्ठले बताउनुभयो । सोही पत्रानुसार सोमबार जिल्लासभा बोलाइएको थियो, उहाँले भन्नुभयो, ‘जिल्ला सभाको छलफल र निर्णयबाट समितिको नयाँ पदाधिकारी कति सदस्य रहने प्रक्रिया अघि बढाउन लागेका थियौँ, विद्यालयको आन्दोलनका कारण आजको सभामा नै अवरुद्ध भयो ।’ आन्दोलनका कारण समितिमा नयाँ पदाधिकारी चुनिने बाटो तत्काललाई बन्द भएको उहाँले बताउनुभयो ।

विद्यालय भवनको बारेमा बोल्दै उहाँले भन्नुभयो, ‘जनशक्ति तथा स्रोतसाधन नहुँदा अधुरो विद्यालयको भवनको काम अघि बढाउन नसक्ने भनी समितिले मन्त्रालयलाई पत्राचार गरियो ।’ ‘मन्त्रालयले स्थानीय तहलाई हस्तान्तरण गर भनेर पत्र पठायो,’ उहाँले भन्नुभयो, ‘पत्रअनुसार स्थानीय तहसँग त्यस बारेमा बैठक बसियो, तर टुंगो लागेन ।’ भवन निर्माणसम्बन्धी कुनै पनि कागजात समितिमा सुरक्षित छैन । ‘जिल्ला विकास समिति हुँदाका कर्मचारीले भवनको कागजात समन्वय समितिका कर्मचारीलाई जिम्मा नलाउँदा थप समस्या उत्पन्न भयो,’ उहाँले भन्नुभयो, ‘समितिको एउटा कोठामा फोहोर फाल्ने गरी पुराना कागजात डम्पिङ गरी राखिएको छ, त्यही डम्पिङबाट खोज्दा खोज्दा गरी केही कागजात भेट्टाएका छौँ ।’ अहिले आएर समितिका पदाधिकारीको समयावधि सकिएकाले उहाँहरूलाई दबाब दिनुभन्दा नयाँ चुनिएर आउनेलाई दबाब दिए मात्र समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?