सरकार र गठबन्धनमा ठूलो समस्या देखिएको छ, आफ्नै कारण ढल्दैछ : महेश बस्नेत

Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट समेत पार्नुभयो ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दैै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको बारेमा गम्भीर समिक्षा गर्न जरुरी छ । यो सरकार जनमतको कारण जन्मिएको होईन, यो परमादेशबाट जन्मिएको सरकार भएकोले यसबाट हामीलाई कुनै आशा र अपेक्षा थिएन । तर, जनतामा यो सरकारले केही गर्ला कि भन्ने भ्रम थियो । यो सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । यति धेरै बेथिति र भद्रगोल छ । मूल्यवृद्धि नेपालको इतिहासमा अहिले धेरै भएको छ । निर्माणको क्षेत्रमा पनि २५ प्रतिशतको दरले मूल्य बढेको छ। सरकारले घोषणा गरेका राहतका कार्यक्रम पनि सान्दर्भिक छैनन् । इण्डक्सन चुलोको कुरा गर्दापनि यो खर्चिलो छ ।’

उहाँले बजेटको अघिल्लो दिन विषय विज्ञका नाममा ठूलो घरानाका मान्छे मन्त्रालय छिरेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो ओम्नी, यति भन्नेहरु आज मुखमा पट्टी बाँधेर बसेका छन् । बजेट निर्माणको बेला भएको चलखेल अपराधको विषय हो, त्यसमा कमिसनको ठूलो खेल देखिन्छ । वायर र स्यानिटरी प्याडमा ठूलो छुट दिईएको छ। नेपाली स्वदेशी उद्योग बन्द गर्ने अवस्थामा पुर्याईएको छ । आज उद्योगी तथा व्यवसायीहरु सबै निराश हुने अवस्थामा पुगेका छन् ।’

एमालेले अर्थमन्त्रीको राजीनामा मागेर सदनमा सशक्त आवाज उठाएको स्मरण गराउँदै बस्नेतले मूल्यवृद्धिको विरोधमा आफ्नो पार्टीनिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको सुनाउनु भयो । तर, विद्यार्थी आन्दोलनमा सरकार दमनमा उत्रिएको उहाँको आरोप छ ।

बस्नेतले वर्तमान सरकार बनेपछि मुलुकमा महिला हिंसा व्यापक रुपमा बढेको पनि उल्लेख गर्नुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको र दुर्व्यवहार गरेको कुरा बाहिर आउँदापनि पार्टी र प्रधानमन्त्रीले आलेलाई कारबाही गर्न नसकेको गुनासो पोख्नुभयो ।

बस्नेतले एमालेविहीन राज्यको कल्पना गर्ने कुरामा गठबन्धन लागिपरेको आरोप लगाउनु यभो । ‘एमाले जनताको मन र मुटुमा रहुञ्जेलसम्म कहिल्यैपनि सकिँदैन्’, उहाँले भन्नुभयो, ‘एमाले सदनमा ठूलो दलको रुपमा उपस्थित छ । एमालेले पपुलर मत पाएको छ । हाम्रा कमजोरीको बारेमा समिक्षा गर्छौं । हामी अहिले यो गठबन्धन टुटाउने वा सरकार फेर्नेजस्तो फोहोरी खेलमा संलग्न हुन चाहँदैनौं।’

उहाँले अहिले पाँच दलीय गठबन्धनभित्र ठूलो समस्या रहेको दाबी गर्दै भन्नुभयो,‘यो गठबन्धन कुहिएको फर्सीजस्तै छ । हेर्दा सद्धेजस्तो देखिन्छ । तर यसको भेट्नो कुहिएको छ । उपेन्द्र यादवको पार्टी विभाजनको तहमा पुगेको छ । कांग्रेस र माओवादी भित्रपनि ठूलो समस्या छ । यो गठबन्धन आँफै भत्किने अवस्थामा पुगेको छ । एमाललाईे नयाँ सरकार बनाउने कुरामा खास धेरै फुर्सद छैन । अहिलेको धु्रवीकरण सुधार हुन्छ, तर अब हुने निर्वाचनसम्म यसको लागि पर्खनुपर्छ । हामीलाई वामपन्थीको नाममा गठबन्धन गर्ने ईच्छा छैन । माओवादी र नेकपा एसलाई वामपन्थी मान्ने हो भने यो कम्युनिष्ट आन्दोलनकै बेईज्जती हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?