हाइड्रोजन प्लान्टका लागि अध्ययन हुने

Read Time = 5 mins

काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।

सो अवसरमा अर्थमन्त्री शर्माले प्रारम्भिक चरणमा सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । विकसित देशमा धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको भन्दै उहाँले तत्काल सय मेगावाटको प्लान्ट स्थापनाका विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयुका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाइड्रोजन प्लान्टका विषयमा अर्थ मन्त्रालयले पनि केही तयारी गर्छ । तपाईंहरू पनि तयारी गर्नुस् र हप्ता-दशभित्र पुनः अर्को बैठक बसांँ ।’ अर्थमन्त्री शर्माले लगानी बोर्डमार्फत् लगानीकर्ता खोजी गर्ने जानकारी गराउनुभयोे । रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाइरहेको जानकारी गराउँदै उहाँले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने विषयमा छलफल अघि बढाउने बताउनुभयो ।

छलफलमा ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराज सिंह थापाले सय मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्ने गरी अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरिरहेको जानकारी गराउनुभएको थियो । विभिन्न देशमा ग्रिन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियम विस्थापित गरी ग्रिन हाइड्रोजन अवलम्बन गर्ने नीतिबारेमा पनि उहाँले जानकारी गराउनुभएको थियो । थापाका अनुसार एक केजी हाइड्रोजन इन्धन उत्पादन गर्न नौ केजी शुद्ध पानी चाहिन्छ । विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो हुन्छ । उहाँले भन्नुभयो, ‘हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ । त्यसैले नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन ग¥यौँ भने धेरै फाइदा पुग्छ । निर्यातमा कोशेढुंगा साबित हुन सक्छ ।’

विश्व बैंकको क्षेत्रीय कार्यालय उद्घाटन
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुनर्निर्माणपछि तयार भएको विश्व बैंकको नयाँ क्षेत्रीय कार्यालयको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । कार्यालयसँगै श्रीलंकास्थित उप–क्षेत्रीय कार्यालय विधिवत्रूपमा नेपालमा सरेको छ । अब सोही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य सञ्चालन हुनेछ । नयाँ क्षेत्रीय कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रूपमा रहिआएको बताउनुभयो ।

सन् १९६९ मा विश्व बैंकबाट पहिलोपटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित २५ आयोजनामा करिब तीन अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ ।

कार्यालयको विस्तार र स्तरोन्नतिसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयोे । नयाँ क्षेत्रीय कार्यालय अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई निर्माण गरिएको विश्व बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?