मुगु कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

मुगु । मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ ।

भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो ।

कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन सहरी डिभिजन भवन कार्यालयलाई बुझाइसकिएको छ । तर, नयाँ भवन जिल्ला कारागार मुगुलाई हस्तान्तरण नहुँदा विभिन्न प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूलाई जुम्ला, बर्दिया, दैलेख र अन्य जिल्लाका कारागारमा चलान गर्ने गरिएको कारागार कार्यालय मुगुले जनाएको छ ।

आशीष कन्स्ट्रक्सन गाँडेखोला कम्पनीले सो भवन निर्माणका लागि तीन करोड ५० लाख ३६ हजार ६ सय २८ रकमको ठेक्का लिई सम्झौताअनुसार काम गरी सहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगुस्थित प्रतिनिधि कर्णबहादुर रावलले बताउनुभयो ।

भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि हालसम्म हस्तान्तरण नहुँदा थुनुवालाई अन्यत्र जिल्ला सार्नुपर्ने अवस्था आएको कारागार कार्यालय मुगुका प्रमुख धनराज कार्कीले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण भइसकेको र यहाँका कैदीबन्दीलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्वार ताकेता गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।

कारागार कार्यालय मुगुले दिएको जानकारीअनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थानान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजारदेखि एक लाखसम्म रकम खर्च हुने गरेको छ ।

आर्थिक वर्ष २०७० देखि हालसम्म कारागार कार्यालय मुगुको तथ्यांकअनुसार विभिन्न प्रकृतिका ११८ कैदीबन्दीलाई जुम्लालगायत अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?