आज असार पन्ध्र । ‘असार पन्ध्र’ भन्ने शब्दले हाम्रो सम्बन्धमा अनेकौं लाक्षणिक भाव बोकेको छ । कामको व्यस्तताको समय भन्ने मुख्य अर्थबोध यस शब्दले गरेको छ भने अर्कोतिर अभिधामै पनि यसले असार महिनाको कार्यव्यस्ततालाई संकेत गरिरहेको हुन्छ । नेपाली किसानका लागि असार निकै महत्वपूर्ण महिना हो । असार खेती लगाउने महिना भएकाले महत्वबोध सबै किसानलाई भएकाले यससँग सान्निध्य हुनेगरी केही उखानै सिर्जना भएका छन् । ‘मानो खाएर मुरी उब्जाउने बेला’ भन्नेदेखि ‘असार महिना अर्काको मेला के खान्छौ पुसमा ?’ भन्नेसम्मका गीतका फाँकी यस सन्दर्भमा सिर्जना भएका हुन् ।
असार खेतीको महिना हुनाले कृषिप्रधान देशका लागि महत्व हुने नै भयो । खेती गरिएन भने उब्जाउ हुँदैन । त्यस अर्थमा खेती गर्नुपर्ने दायित्व र यसका लागि सहजता हुनेगरी अनेक उपायको अवलम्बन गर्दै नेपाली परम्परा अघि बढ्दै आएको छ । मेला, पर्म, भारा, खेताला आदिको प्रचलन यसैका लागि अभ्यास भएका व्यवहार हुन् । कृषिलाई प्रधानता दिएर नै असार पन्ध्रमा राजाले समेत हिलोमा पस्नैपर्छ भन्ने नेपाली मान्यता र संस्कार रहिआएको पाइन्छ । राजतन्त्र हटेपछि त झन् दल र दलका नेताहरूले अनेक प्रकारका रोपाइँ कार्यक्रम आयोजना गरी कृषि कर्मलाई प्रोत्साहन गर्दै आएका छन् ।
शहरी क्षेत्रमा बसोबास गर्दै आएका नयाँ पुस्तालाई कृषि प्रणालीको जानकारी गराउने उद्देश्यले विभिन्न विद्यालयले आफ्ना विद्यार्थीलाई असार पन्ध्रमा वरिपरिका कुनै फाँटतिर शैक्षिक भ्रमणमा लगी रोपाइँ देखाउने वा रोपाइँमा संलग्न गराउने गरेका छन् । यतिलेमात्र नेपालको कृषि प्रणालीको संरक्षण र बचावट होला भन्न सकिँदैन, यस विषयको गहन अध्ययनमै प्रयोगात्मक प्रणालीसहित विद्यार्थीलाई संलगन गराउनुपर्ने आवश्यकता छ । सरकारीस्तरबाट किसानका लागि समयमै उचित मल, बिउ कृषि उपकरण आदिको व्यवस्था हुनुपर्दछ । जहिले पनि किसानले समयमै यस्ता संशाधन नपाएकाले खेतीका कार्य प्रभावित हुँदै आएको गुनासो सुनिने गरेको छ । यस्तो हुनु हुँदैन । नेपालले कृषिप्रधानताको स्थिति कायम राख्ने हो भने कृषिबाट किसान पलायन हुने र अन्य वैकल्पिक व्यवसाय खोज्नुपर्ने बाध्यात्मक अवस्था निरुत्साहित हुनुपर्दछ ।
गर्न त सरकारले वर्षेनी केही न केही नाराका साथ राष्ट्रिय धान दिवस मनाउने गरेको छ । यस वर्ष ‘धान बालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुख्य नाराको साथै १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाउने तयारी गरिएको छ । केही वर्षअघिसम्म नेपालले धान चामल निर्यात गर्दै आएकोमा हालका वर्षमा चामल आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यो कटु यथार्थलाई हामीले भोग्दै आएका छौं । यस वर्ष तयार गरिएको यस नाराले धानचामल आयात प्रतिस्थापनका लागि सहयोग पुग्न सक्ला तर यो नारालेमात्र हुने कुरा होइन । यसका लागि योजनाको कार्यान्वयन हुनु आवश्यकता छ ।
नेपालले कृषिका लागि धेरै प्रयास गर्दै आएको छ । कृषि मन्त्रालयदेखि विभिन्न निकाय यसकै लागि स्थापना भएका छन् । कृषि अनुसन्धान परिषद् पनि छ र यसले अनेक प्रकारका अनुसन्धान गर्दै आएको छ । तर, यसले सिफारिश गरेका बिउहरूले उत्पादन नदिएका गुनासा आउनेगरेको पाइन्छ । नेपालले दुई दशक पहिलेदेखि राष्ट्रिय धान दिवस माउँदै आएको छ । नेपालको प्रमुख बाली धान भएकाले धान दिवस राष्ट्रियस्तरमै मनाउँदै आएको हो तर यसका साथै मकै, गहुँ, कोदो, फापर, जौ, आलु आदि प्रमुख बालीकै रूपमा छन् । यिनलाई पनि प्रोत्साहन गर्नु राष्ट्रको दायित्व हो । यसतर्फ सरकारले उचित दृष्टिकोण दिई नेपाललाई सही अर्थमा कृषिप्रधान देशका रूपमा स्थापित गर्नुपर्ने आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच