एमाले सचिवालय बैठक : स्थानीय तह चुनावमा भएको अन्तर्घात छानबिन गर्न कार्यदल गठन, चुनावसम्म सत्ता गठबन्धन एक नरहने निष्कर्ष

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । नेकपा एमालेले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न कार्यदल बनाएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह चुनावमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी रहनुभएको छ । बैठकले गरेका निर्णयबारे जानकारी दिँदै पार्टी प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, ‘स्थानीय तहको चुनावको क्रममा भएका अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै एमालेमा परेको उजुरीको छानबिन गर्न र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । एमालेको केन्द्रीय सचिवालयको बैठकले पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागका प्रमुख तथा संगठन विभागका प्रमुख सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।’

धेरै स्थानमा नेताहरूले नै आफूले इच्छाएका व्यक्तिले टिकट नपाएपछि चुनावमा अन्तर्घात गरेको भन्दै पार्टीमा उजुरी परेका छन् । त्यसको निरूपण गर्न पार्टीले कार्यदल गठन गरेको हो । पार्टीका उपमहासचिवसमेत रहनुभएका प्रचार विभाग प्रमुख गुरुङले निर्वाचनका समस्या अनुशासनहीनता र अराजकता भएको भन्दै उजुरी परेको र उजुरीमाथि छानबिन गरेर कार्यदलको सिफारिसअनुसार पार्टीले आवश्यक कदम चाल्ने बताउनुभयो ।

सचिवालय बैठकले प्रदेश र जिल्ला कमिटीले स्थानीय तह निर्वाचनबारे समीक्षा असार मसान्तभित्र सम्पन्न गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ । एमालेले चौतर्फी घेराबन्दीबीच पनि प्रथम शक्ति बनेको मूल सन्देश लिएर आगामी निर्वाचनमा जाने निर्णय गरेको छ । वर्तमान परिणाम अपेक्षाभन्दा कम रहेको निष्कर्ष निकाल्दै एमालेले त्यसमा आन्तरिक समस्यासमेत रहेकाले त्यसलाई अन्त्य गर्ने पनि निर्णय गरेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस ३२९ स्थानीय तहको प्रमुख/अध्यक्ष जितेर पहिलो दल बनेको छ भने नेकपा एमालेले २०५ स्थानीय तहको प्रमुख/अध्यक्ष जितेर दोस्रो स्थानमा चित्त बुझाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने २९६ पालिकाको प्रमुख/अध्यक्षसहित नेकपा एमाले पहिलो दल बनेको थियो ।

सातै प्रदेशमा प्रशिक्षण चलाउने, विभागमा तोकियो सचिव
एमालेले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि कमाण्डरसमेत तोकेको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रदेश १ का लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेश प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल, गण्डकीको लागि अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजकको जिम्मेवारी तोकेको जानकारी दिनुभयो ।
उनीहरूले आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिको काममा सहजीकरण, महँगी नियन्त्रणमा सरकारलाई दबाब दिने, विपद्मा पार्टीको स्वयंसेवी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने, प्रदेश र जिल्लास्तरमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन गर्ने गुरुङले जानकारी दिनुभयो । यस्तै, महँगी, भ्रष्टाचार लगायतका जनविरोधी कामविरुद्ध जनपरिचालन गर्ने पनि एमालेले निर्णय गरेको छ ।

यस्तै, बैठकले पार्टी सदस्यता नवीकरणका लागि प्रदेश कमिटीको संयोजनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले एमालेका केही विभागहरूमा सचिव पनि तोकेको छ । जसअनुसार वित्त तथा कोष विभागको सचिवमा डा. भीष्म अधिकारी, संगठन विभागको सचिवमा सम्झना देवकोटा, उपभोक्ता संरक्षण हितमा मोहनी खनाल, श्रम तथा रोजगारमा जनक चौधरी, संगठन विभागमा सूर्य पाठक, सामाजिक सेवा विभागमा डा. नेत्रप्रसाद तिमिल्सना र स्वास्थ्यमा राजेश थापा रहनुभएको छ ।

यस्तै, स्थानीयमा हर्क राई, प्रचार तथा प्रकाशनमा गगन विष्ट, परराष्ट्रमा अञ्जान शाक्य, संघीय मामिला तथा सामान्यमा शिव गुरुङ, ऊर्जामा पुष्पज्योति ढुंगाना, अर्थमा योगेन्द्र शाही र कानुनमा डिल्लीराम मैनालीलाई नियुक्त गरेको छ । त्यस्तै, एमालेले नयाँ तीनवटा विभाग पनि गठन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग र अर्थ तथा योजना विभाग गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

‘गठबन्धनका दलमा एक-अर्काप्रति अविश्वास’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सत्ताढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम नरहने निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरूबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास नभएको जिकिर गर्दै भन्नुभयो, ‘गठबन्धनमा रहेका दलहरूमा एक–अर्काप्रति अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित गर्‍यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरू देखापरेको छ यो चिज हेरौँ न कसरी जाँदो रहेछ ।’

जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र विभाजनपछि विभाजित दल कुन दलसँग तालमेलमा जान्छ भन्ने अहिले नै टुंगो नलागेको भन्दै गुरुङले भन्नुभयो, ‘राजनीतिक घटनाक्रम हेर्दै छौँ । हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन । अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरूमा अन्तरविरोध सुरु भइसकेको छ । जे होस् गठबन्धन सग्लो रूपमा रहन्छ भन्ने विश्वास छैन ।’

एमालेले पार्टीका पूर्व-उपाध्यक्ष वामदेव गौतमले चलाएको नेकपा एकता अभियानले गति लिन नसक्ने ठहर गरेको छ । एमालेका प्रचार विभाग प्रमुख गुरुङले गौतम नेतृत्वको अभियानप्रति एमालेलाई विश्वास नरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?