कोसी टप्पुका दुई हात्ती गर्भिणी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन् । वन्यजन्तु आरक्षणमा रहेका आठवटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन् । वन्यजन्तु आरक्षणमा रहेका आठ हात्तीमध्ये सातवटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन् । आरक्षणमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएका हुन् ।

निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताउनुभयो । उहाँले उक्त आरक्षणमा साढे दुई वर्षदेखि ७० वर्षका हात्ती रहेको बताउनुभयो । दुई हात्तीले तीन महिनापछि बच्चा पाउन लागेका हुन् ।

केही महिनाअघि कोसी टप्पु वन्यजन्तु आरक्षणमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षणले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जंगली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षण प्रमुख रामचन्द्र खतिवडाले बताउनुभयो ।

उहाँले अहिले जंगली हात्ती आउने र वन्यजन्तु आरक्षणमा नै भाले हात्ती भएकाले हात्ती गर्भिणी भएर सन्तान ब्रिडिङ गर्ने आरक्षणमा नै भएको बताउनुभयो । प्रमुख खतिवडाले आरक्षणमा हात्तीको संख्या बढ्दै गए पनि माहुतेको दरबन्दी नभएको बताउनुभयो । उहाँले सरकारले कोसी टप्पु वन्यजन्तु आरक्षणलाई हात्तीको ब्रिडिङ सेन्टरका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । प्रमुख खतिवडाले प्रदेश एकमा जंगली हात्तीको आक्रमणलाई रोक्नका लागि स्रोतसाधनको कमी रहेको गुनासो गर्नुभयो । उहाँले जंगली हात्तीले प्रदेश एकमा ठूलो समस्या सिर्जना गरे पनि त्यसलाई रोक्न प्रदेश र संघीय सरकारले ठोस योजना नबनाएको बताउनुभयो ।

आरक्षणमा रहेका हात्तीको रेखदेख गर्न २४ जना माहुते छन् । आरक्षणमा ७० वर्षकी अम्विकाकली जेठी हात्ती भए पनि उसले हालसम्म कुनै बच्चा जन्माएकी छैन । आरक्षणमा अम्विकाकली, सरस्वतीकली, शोभाकली, दमदमीकली, लक्ष्मीकली, कुसाकली, र उत्तरीगञ्ज नाम गरेको भाले बच्चा हात्ती छन् । हात्तीले २४ महिनामा बच्चा ब्रिडिङ गर्ने गर्दछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?