बन्द भएका उद्योग खुलाउँछौँ : उद्योगमन्त्री

Read Time = 3 mins

श्रीराम अर्जुन/हिटा
हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बन्द भएका उद्योग कलकारखाना सञ्चालन गरिने बताउनुभएको छ । विभिन्न कारण वर्षौंदेखि बन्द भएका उद्योग सञ्चालनमा ल्याउने उहाँले बताउनुभएको हो । बन्द र चालु अवस्थामा रहेका उद्योग तथा कलकारखानाको स्थलगत अवस्था बुझ्न औद्योगिक नगरी हेटौंडा आइपुग्नुभएका मन्त्री बडूले हेटौंडाका उद्योगी व्यवसायीसँगको छलफलमा यस्तो बताउनुभएको हो । मन्त्री बडूले भन्नुभयो, ‘नेपालमा आयात बढ्दो छ, अपेक्षाअनुरूप निर्यात नभएकाले पछिल्लो समय नेपालको अर्थतन्त्र ठीक छैन । केही वर्षदेखि अर्थतन्त्रमा समस्या छ, उत्पादन बढाउनुपर्नेछ ।’ नीति निर्माणपछि पूर्ण क्षमताका उद्योग पूर्ण क्षमतामै सञ्चालन गरिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले औद्योगिक क्षेत्र पूर्णरूपमा प्रयोग नभएको अवस्थामा नयाँ उद्योग सञ्चालन गर्न स्वदेशी उद्योगीलाई आग्रहसमेत गर्नुभएको छ । राज्यको स्वामित्व रहेको विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडाको कपडा उद्योगसहित रुग्ण अवस्थाका अन्य उद्योग चाँडैं सञ्चालनमा ल्याउने तयारी रहेको मन्त्री बडूूले जानकारी गराउनुभयो । उद्योगीलाई सहज हुने गरी नीति निर्माण गरेर ३० वर्षे लिज भाडा समय बढाएर ५० वर्ष पुर्‍याउन सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । उहाँले प्रदेश राजधानी भएको हेटौंडामा नापतौलको कार्यालय सञ्चालन गर्न सरकारले ठोस निर्णय गर्ने आश्वासनसमेत दिनुभएको छ । मन्त्री बडूले बिहीबार हेटौंडा औद्योगिक क्षेत्र, मयुरधाप औद्योगिक क्षेत्र, उद्योग संघ मकवानपुरलगायत विभिन्न स्थानमा पुगी वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो ।

मकवानपुरका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको छलफलमा अध्यक्ष अग्रवालले समग्र मकवानपुरको उद्योग, वाणिज्य तथा उद्योगीको अवस्था र संघले गरेको कार्यबारे जानकारी गराउनुभएको थियो । सोही अवसरमा संघले ज्ञापनपत्रसमेत बुझाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?