कार्यशाला वा गोष्ठीबाट निस्कने निष्कर्ष

Read Time = 14 mins
A A- A+

✍️ अच्युतप्रसाद पौडेल ‘चिन्तन’
कलियुगको पूर्वसन्ध्या ! अनौठा, अचम्मलाग्दा दृश्यहरू देखिँदै थिए । द्वापरयुगका नायक श्रीकृष्णले एकपटक युधिष्ठिरलगायत अन्य चार भाइहरूलाई बोलाएर एकै ठाउँमा राखी गोष्ठी सञ्चालन गरे । शीर्षक दिइयो संसारको अनौठो विषय र त्यसमा निष्कर्ष निकाल्नुपर्ने । ‘बाबु युधिष्ठिर तिमी सत्यका प्रतीक हौ, धर्मको अर्को रूप हो यो तिम्रो ! संसारमा तिमीले केही अचम्मका कुराहरूको खोज, अनुसन्धान गर्नुपर्छ’ । अर्का भाइ भीमसेनलाई भनियो, ‘बाबु तिमी वीर छौं, तिमीले पनि केही कुराको नयाँ अवलोकन गर्नुपर्छ’ ।

अर्जुनलाई भनियो, ‘बाबु तिमी इन्द्रका प्रतीक हौ, तिमीले पनि आश्चर्यका केही विषयको खोज गर्नुपर्छ ।’ नकुल र सहदेव उस्तै उस्तै सादासिदा उनीहरूलाई भनियो, ‘बाबुहरू हो, तिमीहरूले संसारका केही अचम्मका कुरा खोजेर ल्याओ र निचोड निकाल’ । आदेश पालक तिनीहरू चार समूह मिलाएर पृथ्वीको चारै दिशातिर हिँडे । सबैका हातमा एक एक डायरी थियो । पूर्वदिशाको नेतृत्व युधिष्ठिरले गरे । घुम्दै जाँदा बाटामा एउटा अचम्मको दृश्य देखे । एउटा यामानको हात्ती रहेछ । दुईतिर सुँढ भएको र दुवै सुँढले वरिपरिका सबै सामानहरू भष्मासुरको शैलीमा निल्दै रहेछ ।

दुवैतिरबाट खानाखाने क्या अचम्मको, काहीँ नदेखिएको दृश्य भन्दै उनले डायरीमा नोट गरे । दक्षिणको नेतृत्व भीमसेनले गर्दै थिए । उनले आप्mनो भ्रमणमा सर्बथा अनौठो दृश्य देखे । एउटा ब्याएको गाई रहेछ, भरखरै जन्मेको बाछोले माउको दूध चुस्तै रहेछ । माया गरेर माउले आफ्नो बाछोलाई आफ्नै खस्रो जिब्रोले बेस्सरी चाट्दै रहेछ । चाट्दा चाट्दै कोमल अंगबाट रगत बग्दै गरेको दृश्यदेखि अचम्मित भएर आफ्नो डायरीमा नोट गर्दै फर्किएछन् उनी ।

पश्चिम दिशाको नेतृत्व गर्ने अर्जुनले पनि बाटामा अचम्मको दृश्य देखेछन् । एउटा चरो, चराको दुवै प्वाँखका बाहिरभित्र साधु सन्त र ज्ञान अनि विज्ञानको ट्रेड मार्क रहेछ तर चुच्चो भने रक्ताम्य, रगतले लत्पतिएको रातो रहेछ । उनलाई अचम्म लागेछ । यस्तो ट्रेडमार्क भएको अनि साधुको चिहृन भएकाको पनि हिंसाले मुख रातै भएको अचम्म लागेर डायरीमा नोट गर्दै फर्किएछन् उनी ।

चौथो समूह उत्तरतिर जाँदै गर्दा नकुल र सहदेवले पनि देखेछन् अनौठो दृश्य ! लस्करै सातवटा पोखरी रहेछन्, ६ वटामा पानी टलपल टलपल तर जोडिएको अन्तिम पोखरीको भुइँमा कमिला हिँडेको, चुहिएको, पानी रसाएको, कतै भुईं भिजेको पनि छैन । कस्तो अचम्मको दृश्य ! यसको उत्तर र जिज्ञासा समाधानका लागि हामी श्रीकृष्ण सामु नै जानुपर्छ भन्दै सबै समूह भेला भई अघि आदेश दिने कृष्ण सामु नै पुगेछन् सबैजना, एक किसिमको गोष्ठीको आयोजना नै भएछ ।

सबैले आफूले देखेको दृश्यहरूको प्रस्तुति दिए । सबैको एकसाथ निचोड निकल्दै श्रीकृष्णले भने, ‘हेर कलीमा यस्तै हुन्छ, अनौठो मान्नु हुन्न । तिमीहरूले देखेको हात्ती कलिको राजा, महाराजा, भनौं नेताहरूको प्रतीक हो, यिनीहरू दुवै हातले खान्छन्, आसुरी शैली हो यो ! अरूलाई दिन जान्दैनन् । आफू, आफन्तलाई भाग छुट्याउँछन् । स्वदेश, विदेश सबैतिर अनेकौं बहाना बनाउँछन्, आफैँ उग्राउँछन् । सकेसम्म अरूको भाग पनि खोस्छन् । अब धर्म लंगडो भएको छ, द्वापरको अन्त्यपछि लगत्तै कलीको आरम्भ हुन्छ । यसको उमेर चार लाख बत्तीस हजार वर्षको हुन्छ ।

यसको अन्त्यतिर महाकली आउँछ, त्यति बेला झन् बढी हाहाकार हुन्छ । सक्नेले अगाडि, पछाडि, तल, माथि सबैतिरबाट खान्छन्, मुखै मुख हुन्छन्, जति खाए पनि राजनीतिकर्मीहरू अघाउँदैनन्, जनता सुकेनाशमा हुन्छन्, नेता मोटाएर फुल्छन्, तैपनि उनीहरू अघाएको भान नै हुँदैन, अनेक बहाना गर्दै सत्ताकै लुछाचुँडीमा हुन्छन्, यसलाई अनौठो मान्ने होइन सहज मान्नुपर्छ । श्रीकृष्ण रक्ताम्ये चराको चुच्चोबारे स्पष्ट्याउँदै भन्छन् । हेर ! कलीमा देखाउने ढोंगीहरू धेरै हुन्छन् । सिद्धान्त एकातिर हुन्छ, व्यवहार अर्कोतिर !

उनीहरूको ट्रेडमार्क ज्ञान र विज्ञानको हुन्छ, भाषणमा आकाशपातालको कुरा गर्छन् । नेता, व्यापारी, कर्मचारी, साधु, सन्त, महात्मा, सबैले मीठो कुरा गर्छन्, वेदान्ती प्रवचन पनि गर्छन् । मुखमा राम, आराम अनि बगलीमा छुरा हुन्छ । पेटमा हलाहल विष लिएर मुखले अमृत पान गरेको देखाउँछन् । मौका खोज्छन्, गौँडा कुर्छन्, कानुन, नियम देखाइदिन्छन्, नैतिकता र सच्चरित्रताको वकालत गर्छन् । अनि मौका मिल्नासाथ हत्या, हिंसा, बलात्कार, चोरी, के के हो के के, भएभरका दुष्कर्म गर्न भ्याइदिन्छन् ।

कानुनको नौ सिङ हुन्छ । पिडक उम्किन्छ, पीडित पिल्सिन्छ । चराको पखेटाझैँ वकिल, डाक्टर, आफ्नैले, अग्रजले कैँची काटिदिन्छन् । धेरै उदाहरण परेन, एउटा सुन व्यापारीले आफ्नै छोरीको सुन गालेर गहना बनाउँदा जर्ती काटिदिन्छ, यो त नियमले पाएको कुरा भयो, नियमले नदिएको कुरा लुकिछिपी वा झुक्याएर अनेकौं नाटक रच्दै दुनो सोभ्mयाउने काम हुन्छ । राजनीतिकर्मीले अरू ललिपप देखाएर जनतालाई अर्को भड्खारोमा हालिदिन्छन् । आफूलाई कम्फर्ट भएन भने अनेकौँ तिक्डम रचाएर दिनदहाडै अँध्यारो पारिदिन्छन् । मतदाताहरू अवाक् बन्न पुग्छन् माखे साङ्लो देखेर, समय नआउँदै चुनावतिर पनि धकेलिन बाध्य हुन्छन् ।

माउले बाछो चाट्दै गर्दा बाछो रक्ताम्ये भएको दृश्यको विश्लेषण गर्दै निष्कर्ष निकालिन्छ । माउ गाई कलीको अभिभावक हो । बच्चाको मन मस्तिष्क कोमल हुँदै, राम्ररी हुर्कन नपाउँदै, पुस्तकका भारी बोकाइन्छन्, होमवर्कका ठेली थोपरिन्छन्, हिँड्न नजान्दै बोर्डिङका बसहरू चढाउन सडकमा उतारिन्छ, आमाको मायाबाट टाढा राखी धाईआमा, बट्टाको दूध, बजारको बट्टाबन्दी खाजा, खाना, होस्टेलको दौड, प्लस् टु गर्न नपाउँदै भिसा र पासपोर्टको चक्कर, स्वदेशी भाषा होइन, विदेशी भाषा, भेष, लवाइ, रहनसहन, नाना थरीको उर्दी जारी हुँदा बालकको कोमल मन मष्तिस्क भत्कन बेर लाउँदैन ।

आमाबाबाको लाड्प्यार पाउँदैन, क्रन्दन र चिच्याहटमा हुन्छ, थोरैले रफ्तारीमा सफलता धेरैले तिनै अभिभावकलाई चिन्ता थप्छन् । कलिमा यसलाई सामान्य रूपमा लिनुपर्छ । अर्को समूह जसले भरिएको ६ पोखरी र सुख्खासँगैको एक पोखरी देखेको थियो उसको जिज्ञासा समाधान गर्दे निचोड निकालिन्छ । कलिमा यस्तै हुन्छ, हुनेसँग भइरहन्छ, नहुनेसँग केही हुन्न । मनी एट्य्राक्स मनी भन्ने सिद्धान्त लगाइन्छ । राजनीतिकर्मीले यसलाई हृयाभ्स् र हृयाभ्स् नट् भन्ने गर्छन् । बहाना धेरै गरिन्छ ।

सबैलाई समाजवादको नारा घोकाइन्छ । कार्लमाक्र्स, लेनिन, माओ अनेकानेक नाम दिइन्छ । धेरैले प्रजातन्त्र भन्छन्, लोकतन्त्र, गणतन्त्र, मताधिकार, मतपत्र, जनतन्त्र, जनगणतन्त्र, आफैँमा सम्प्रभुता, दैलोको सरकार, सुशासन, पारदर्शिता अनेकौं शब्दावली प्रयोग गरिन्छ । सरकारमा आउनजान बाकस थापिन्छ, टेन्डर हुन्छ, लिलाम हुन्छ, मतपत्र गन्दा अटोमेटिक बत्ती नै निभ्छ, च्यातिएको मतपत्रले जहाज चढ्छ, अदालतमा घुमफिर गर्छ ।

अर्कोपल्ट पनि उही आउनुपर्छ, नआए दुर्घटना हुन्छ भनिन्छ । चाहेको व्यक्ति ल्याउन सिद्धान्त हेरिँदैन, ठाउँ खाली गराइन्छ, कमजोर उम्मेदवार उठाइन्छ । अप्राकृतिक गठजोड हुन्छ, अर्कोले भन्छ देश विकास गर्न मेरो दल नभई हुँदैन, अरूले त गर्नै सक्तैन, तालमेल गराइन्छ, प्रचार गर्न नपाइने मौन समयमा भित्रभित्रै दलहरूले अर्कै उम्मेदवारतिर मत खसाल्न निर्देशन दिन्छन् । बेलुकी एउटा निर्णय हुन्छ बिहान परिणाम अर्कै आउँछ, जिताउन पर्ने उम्मेदवार मतगणनामा अलि तल परेको देखियो भने मतगणना स्थगित हुन्छ । कुनै थप सम्झौता भएपछि पुनः सुरु हुन्छ ।

देशको मूल कानुन संविधान बनाउन ठूलो समूह गठन हुन्छ तर तयारी संविधान आउँछ, सबै दर्शक बन्छन्, टररर ताली बजाई भत्ता सिनित्त पार्छन्, जोड घटाउ र लेन देनको कुरा गोप्य ढंगले गरिन्छ । यो मैले गरेको हो भन्छन् नेताहरू, गर्ने गराउने अर्कै हुन्छ । सरकारमा आउन निम्तोे दिइन्छ, किस्ती सजाइन्छ । अनि कसैले मेरो अपराधीको मुद्दा फिर्ता गर अनि आउँछु भन्छन्, अर्कोलाई भन्यो भने त्यही भन्छ मेरो अपराधी जेलमा छ उसलाई छुटाइदिने हो भने आउँछु भन्छ । नआउँदै यस्तो शर्त राख्नेबाट सरकारमा आएपछिको आफ्नै हातमा डाडु पुन्युँ हुँदाको अपेक्षा र अवस्था के हुन्छ ।

सत्ता समीकरणको नाम दिइन्छ यसलाई ! जो कोहीले पनि बुझ्ने कुरा हो यो ! गरिबको नाम भजाइन्छ, दृश्य देखाइन्छ, दाताहरूले गरिबको नाममा पैसा, सामान छुट्याउँछन् पनि तर गरिबतिर चुहिँदैन, अर्कैले भुँडी भर्छ । अल्पविकसित उठ्न खोज्छन् तर उठिहाले भने नेताहरूको दुनो साँघुरो हुने डरले उठ्न दिँदैनन्, गरिब झन् गरिब हुँदै जान्छ, धनी झन् धनी हुन्छ । विकासका कुरा गरिन्छ । नजिकका छिमेकी देशहरूले संसारको विकासको रस लिइसक्छन्, आर्थिक वृद्धिदर मनग्ये गर्छन् । बीचमा परेकाहरू सपनीको आकाशमा रमाउँछन् ।

नेताहरूले चटकीशैलीमा रूपान्तरण गर्ने भन्दै भाषणबाजी गर्छन् । भाषण गरेका ठाउँमा जनताको ओइरो लाग्छ । तर, किन केका लागि त्यहाँ गएको सुइँकोसम्म तिनीहरूले पाएकै हुँदैन । पछिल्लो पोखरीमा पानीको थोपो पनि नहुनुको रहस्य यही हो भन्दै कार्यशाला भनौं गोष्ठीको समापन स्वयं श्रीकृष्णले गरेको कलीको संकेत र प्रसंग हो यो, जुन हिजो आज छर्लंग देखिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?