नगरप्रमुख पन्थी जेसीबी लिएर अवरुद्ध सडकमा

हिमालय टाइम्स
Read Time = 4 mins

-रमेश विश्वकर्मा

गुल्मी । बुधबार विहान आठ बज्दै थियो । भर्खर चिया र खाजा नास्ता गर्ने समय हुँदै थियो । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी रेसुंगा नगरकार्यपालिकाको कार्यालय सदरमुकाम तम्घासदेखि अगाडी–अगाडी जेसीबी लिएर गर्जुराको उकालो लाग्दै हुनुहुन्थ्यो । मंगलबार देखिको अविरल वर्षाका कारण रेसुंगा नगरपालिका–१४ जोड्ने मूख्य सडकको पाङ्ग्रे खोलामा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको थियो । उक्त सडक खुलाउन आफू जेसीबी लिएर सडक खुलाउन हिडेको बताउनुभयो ।

सदरमुकाम तम्घासदेखि पराल्मीतर्फ र पराल्मीदेखि सदरमुकाम तम्घासतर्फ आउने जानेको सडक अवरुद्धले नागरिकको भिड थियो । सोही सडक खुलाउन एकाविहानै जेसीबी लिएर नगरप्रमुख त्यस स्थान पुगेपश्चात आवतजावत गर्ने नागरिकहरू निकै खुसी भएका थिए । अब हामीलाई आवतजावत गर्न सहज हुने भयो त्यहाँ रहेका नागरिकहरुले भने, ‘नगरप्रमुख स्वयम् आफै हामीलाई यात्रामा सहज होस् भनेर यसरी खट्नु भएको रहेछ । धेरै–धेरै धन्यवाद छ ।’

लगत्तै जेसीबीले पहिरो पन्छाएर सडक आवतजावतका लागि सहज बनाइदियो । यससंगै वडा नम्बर १४ बाट सदरमुकाम आउनका लागि सवारी साधनहरुलाई सहज भयो । राति करिब ११ बजे सडक अवरुद्ध भएको र गाडीहरू सोहि बाटो भएर पराल्मी रातामाटा जान अवरोध भएको जानकारी प्राप्त भएपछि बिहानै नगर प्रमुख पन्थीले बाटो खुलाउन र पहिरोको बारेमा जानकारी लिनको लागि आफै पाँग्रे खोलामा पुग्नुभएको हो ।

हरेक नागरिकका समस्या आफ्ना समस्या भएको बताउँदै नगरप्रमुख पन्थीले बाटो खुल्नु भन्दा पनि कसरी अवरुद्ध भयो ? के कति कारणले भयो ? भन्ने जानकारी लिनको लागि र सडक खुलाउन आफु सोहि ठाउँमा पुगेको बताउनुभयो । पन्थीले निरन्तर झरि परिरहेका कारण यो समयमा गाडी चल्न निरन्तर पहिरो फाल्ने र हिउँद लागेपछि दीर्घकालीन उपाय खोज्ने बताउनुभयो ।

निरन्तरको झरीका कारण ग्रामिण क्षेत्रका कच्ची सडकहरु अवरुद्ध समेत भइरहेका छन् । जसका कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भइरहेछन् । रेसुंगा नगरपालिकामा पनि अधिकांश कच्ची ग्रामिण सडक छन् । नगरपालिकाकै सबैभन्दा विकट वडाको रुपमा वडा नम्बर १४ पराल्मी रातामाटा पर्छ ।

अन्य वडाको तुलनामा भौगोलिक रुपमा विकट छ । सदरमुकाम नजिकै भएपनि विकासको अभावका कारण यस वडा विकट अवस्थामा रहेको छ । नगरपालिकाको नगर कार्यपालिका आउनका लागि गौशला हुँदै आउनुपर्छ । विगतदेखि नै यस सडकखण्ड सुगम हुन सकिरहेको छैन् । जसका कारण १४ नम्बर वडाका नागरिकहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको स्थानीयहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?