नवौं खेलकुदको तयारी सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक रूपमा तयारी सुरु भएको जनाएको छ । नवौं खेलकुदको मूल आयोजक कमिटीको शुक्रबार काठमाडौंमा बसेको बैठकले नवौंको तयारी औपचारिक रूपमा सुरु भएको जनाएको हो ।

(नवौं राष्ट्रिय खेलकुद) असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको सबै ११ जिल्लामा आयोजना गर्ने तयारी राखेपको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौंका यसै साताभित्र काठमाडौं र पोखरामा सचिवालय खोल्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

नवौं राष्ट्रिय खेलकुदमा ६० करोड खर्च हुने अनुमान गरिएको छ । मूल समारोह समितिले नवौं खेलकुदको तयारीका लागि प्रशिक्षण सुरु गर्न सबै खेल संघलाई निर्देशन दिइसकेको छ । विभागीय टोलीलाई तयारीको लागि नौ लाख रुपैयाँ र अन्य टोलीलाई तयारीका लागि ४९ लाख रुपैयाँ छुट्याइएको राखेपले जनाएको छ । खेलाडीलाई दैनिक दुई हजार भत्ता दिने निर्णयसमेत गरिएको छ ।

नवौंमा विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुनेछन् । नवौं खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको टोलीले भाग लिनेछन् । नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौं खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिण्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नाष्टिक, पौडी, हृयाण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइनेछ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले कोभिड-१९ का कारण निर्धारित मितिमै नवौं हुन नसकेको र अब रोकिनुपर्ने कुनै कारण नरहेकाले धमाधम कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्धारित समयमै नवौं हुनेमा विश्वस्त रहन सम्पूर्णलाई आ≈वान गर्नुभयो ।

मूल आयोजक समितिको बैठकले कार्यकारी समिति र विभिन्न तयारी उपसमिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्यसचिव, विभागीय टोली, राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेल संघका प्रतिनिधिको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?