चराले सफा गर्ने निस्कोट बराह ताल : जहाँ पुग्दा लोभिन्छन् पर्यटक (तस्बिरसहित)

हिमालय टाइम्स
Read Time = 8 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । गाउँको शिरानमा जंगल । जंगलकोे नजिकै छ एउटा सुन्दर (पोखरी) ताल । प्राकृतिक रुपमा बनेको यो तालको भूबनोट नै अचम्मैको छ । जहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल । गाउँको शिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन । यहाँ जंगलका पात पातपतिंगर  परिहाले भने पनि पंक्षी-चरा) हरूले चुच्चोले टिपेर वाहिर फ्याक्ने गर्दछन् ।

यो तालको नाम बराह ताल हो । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ नम्बर वडामा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो कोही पनि यो ताल देख्दा छक्के पर्ने गर्दछन् । ताललाई एकोहोरिएर हेरिरहँदा आफैलाई विर्सन पुग्छन् पर्यटकहरु । निस्कोट गाउँमा पुगेपछि घना वन जंगलको बीच भाग र केही मानव वस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ ।

रोमाञ्चक भू-बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको नेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालहरुको लर्कन देखिने निस्कोटको बराहतालमा थोरै पर्यटकहरु पुग्छन् ।

भौगोलिकरुपमा विकट र प्रचार प्रसारको अभावमा थोरै पर्यटकहरू पुगे पनि यहाँ पुग्ने पर्यटकहरू मज्जाले रमाउने गर्दछन् । झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।

समुन्द्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृंखलाहरू देखिन्छन् । बराहताल क्षेत्रबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे, मानापाथी लगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यहरुको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । बराहतालमा वन जंगल र हिमालहरु देखिने प्रतिबिम्ब (छाँया) समेत आकर्षक रुपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताउनुभयो ।

हिमालको वरिपरी लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेहरुलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमीमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दुरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । वन जङ्गलको बीच भागमा ताल रहेपनि त्यसमा कुनै पातपतिंगरहरू हुँदैनन् । पातपतिंगर परेमा चराले सफा गर्छन् ।

बराहतालमा बिहान सबैरै दुई वटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरूको आकर्षक दृश्यहरू देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजो जस्ता गीतहरू सुन्न पाइन्छ । बराहताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ ।

बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटकहरू भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । बराहतालको पर्यटन प्रवद्र्धन गर्नका लागि वडा र पालिकामार्फत आवश्यक पहल गरिने निस्कोटका वडा अध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो । प्रशस्तै पर्यटकीय सम्भावनाहरू रहेको भए पनि यस तालको बारेमा प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको वडाअध्यक्ष पुनको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?