पूर्वाधारमा लगानी विस्तार गर्न चीनलाई आग्रह

Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ सहयोग विस्तारका लागि आग्रह गर्नुभएको छ । मंगलबार नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडद्वारा आयोजित नेपाल चाइना बिजनेस फोरममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री दाहालले चीन नेपालका लागि दोस्रो ठूलो व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा पहिलो राष्ट्र रहेको भन्दै दुर्ई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ–नयाँ प्रविधिको आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ-नयाँ प्रविधिको आवश्यकता रहेको छ, चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ, सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुने गरी वातावरण बनाउन प्रतिबद्ध रहेको छ । पछिल्लो समयमा चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी आउन सकेको छैन, त्यो अरूलाई दोष दिनुभन्दा हाम्रै सरकारको पोलिसीका कारण हो । ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ ।’ उहाँले दुर्ई देशबीचको व्यावसायिक सम्भावना खोज्न र उजागर गर्न निजी क्षेत्रको भूमिका प्रशंसनीय रहँदै आएको भन्दै आगामी दिनमा निजी क्षेत्रहरूले दुर्ई देशबीचको व्यवसाय प्रवद्र्धनमा त्यत्तिकै भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ–नयाँ प्रविधिको आवश्यकता रहेको भन्दै लगानी विस्तारका लागि चीनलाई आग्रह गर्नुभएको हो ।

उहाँले नेपालमा लगानी विस्तार गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्दै सरकारले लगानीलाई प्रोत्साहनका लागि लगानीमैत्री कानुन बनाएको जानकारी गराउनुभयो । ऊर्जा, उत्पादनमूलक उद्योग तथा खानी क्षेत्रमा लगानी गरेर लाभ उठाउन सक्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले नेपाल-चीन क्रसबोर्डर इकोनोमिक जोन बनाउन दुर्ई देशबीच छलफल भइरहेको, रेलवे लाइन जोड्ने काम भइरहेको बताउनुभयो ।

साथै उहाँले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । प्रधानमन्त्री दाहालले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने बताउनुभएको हो ।

नेपालस्थित चिनियाँ राजदूत छङ सोङले चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी पठाउने मुलुक भएको भन्दै चीन-नेपाल सहकार्यको बृहत् अवसर सिर्जना गरेको बताउनुभयो । उहाँले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले नेपालीहरूलाई चीन भ्रमण गर्न आग्रहसमेत गर्नुभएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमा नाका खोलेर व्यापारका लागि सहज वातावरण बनाउन आग्रह गर्नुभयो । सिसिपिआइटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि दुई देशबीचको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

अर्थशास्त्र विद्यार्थी सम्मेलन सुरु
लचिलो दक्षिण एसियाली अर्थतन्त्रतर्फ भन्ने नाराका साथ १८औँ संस्करणको दक्षिण एसियाली अर्थशास्त्र विद्यार्थी भेला (सेइज्म) काठमाडौंमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको आयोजना तथा नेपाल आर्थिक संघको संयुक्त आयोजनामा स्नातक तहमा अध्ययनरत विद्यार्थीको भेला मंगलबार सुरु भएको हो । भेलामा दक्षिण एसियाका सात देशका तीन सय विद्यार्थी तथा प्राध्यापक सहभागी छन् । सेइज्मले विद्यार्थीलाई सञ्जाल निर्माणमार्फत् सीप र ज्ञान सिक्ने अवसर प्रदान गर्छ । सेइज्म हरेक वर्ष आयोजना हुँदै आएको छ । सेइज्म दक्षिण एसियाका विभिन्न विश्वविद्यालयमा स्नातक अध्ययन गरिरहेका विद्यार्थीलाई यस क्षेत्रको आर्थिक विषयमा ज्ञान हासिल गर्न सघाउने खुलामञ्च हो ।

दक्षिण एसियाका प्रमुख विश्वविद्यालयका पाठ्यक्रममा क्षेत्रीय मुद्दालाई कम जोड दिने गरेको पाइएको छ । सोही अन्तरलाई भेलाले परिपूर्ति गर्न सहयोग गर्ने आयोजक तथा त्रिवि अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्राडा शिवराज अधिकारीको भनाइ छ । अधिकारीका अनुसार सेइज्ममा नेपालबाट दुई सय र अन्य दक्षिण एसियाली मुलुकबाट एक सय विद्यार्थीको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?