पद्मा एकादशी, जसलाई आषाढ शुक्लपक्षको हरिशयनी भनिन्छ

हिमालय टाइम्स
Read Time = 8 mins
A A- A+

✍️ तोयराज नेपाल

आषाढ एकादशीको माहत्म्य कस्तो छ ? भनेर युधिष्ठिरले श्रीकृष्णलाई सोधे, उनको जवाफमा कृष्णजीले भन्नुभयो- हे राजन् ! ब्रहृमाण्ड पुराण अनुसार यस एकादशीबारे सुन्नुहोस्- आषाढशुक्ल एकादशीको नाम पद्मा हो । यसैलाई हरिशयनी पनि भनिन्छ यसको ठूलो माहात्म्य छ । अघि मान्धाता राजा धर्मपूर्वक राज्य गर्दथे । उनका राज्यमा सबै जना सुखी थिए । कुनै समयमा उनका राज्यमा दैववश तीन वर्षसम्म पानी नपरेकाले अन्नबाली नफलेर अनिकाल भयो । राजा चिन्तित भएर यसको उपाय विचार गर्दै सेनाकासाथ जंगलमा गए । ऋषि मुनिहरूमका आश्रममा घुम्दै जाँदा अंगिरा मुनिलाई देखेर उनलाई प्रणाम गरी पानी नपर्नाले राज्यमा अनिकाल परेको कुरा बताए । मुनिले भने तपस्या गर्न अधिकार नभएका व्यक्तिले तपस्या गरिरहेछ, त्यस कारण पानी नपरेको हो । त्यसैले अकर्तव्य गर्ने व्यक्तिलाई
मार्ने उपाय गर, त्यसबाट दोष नाश भई पानी पर्नेछ र अनिकाल दूर हुनेछ भने । राजाले भने प्रभु ती तपस्वी निरपराध छन्, तिनलाई म मार्दिनँ । बरू अर्काे कुनै उपाय छ भने बताइदिनुहनेस् भने । राजाको कुरा सुनेर मुनिले भने- हे राजन् यदि त्यसलाई नमार्ने हो भने आषाढ शुक्लपक्षको पद्मानामको एकादशीको व्रत गर्नाले सुवृष्टि भई अन्नादि उत्पादन हुनेछ भने । मुनिको उपदेश अनुसार राजाले चारैवर्णका प्रजाका साथमा पद्मा एकादशीको व्रत गरे । त्यस व्रतका पुण्यका प्रभावले भगवान् ऋषिकेश प्रसन्न भई सुवृष्टि भयो र अन्नादिको उत्पादन भएर सम्पूर्ण प्रजामा सुख आनन्दको वर्षा भएको थियो । त्यसैले पद्मा वा हरिशयनी एकादशीको ठूलो माहात्म्य छ ।

भविष्यपुराणमा अनुसार पनि हरिशयनी एकादशीको माहात्म्य बारे वर्णन गरिएको छ, यस एकादशीमा विष्णुशयन व्रत गर्नुपर्दछ । एक महिनाअघि निर्जला एकादशीका दिन बिउ राखिएकी तुलसीलाई मठमा रोप्ने यसै दिन गर्नुपर्दछ, प्रत्येक दिन तुलसीमा जलार्पण गरी विभिन्न पूजा सामग्रीद्वारा तुलसीको पूजा गर्नुपर्दछ । चतुर्मासाको व्रत आरम्भ यसै दिनदेखि गर्नुपर्दछ । यो व्रत गर्दा भगवान् विष्णुको शंख, चक्र, गदा र पद्म हातमा लिएको पीताम्बर धारण गरेको प्रतिमा बनाएर सुन्दर सफा शुक्लवर्णको पलंमा ओढ्ने ओछ्याउने सिराने झूल आदि सम्पूर्ण शैøयाका लागि आवश्यक सामग्रीसहित शैøया तयार गरी प्रतिमालाई पञ्चामृतले स्नान गराई शुद्ध गंगाजलले समेत स्नान गरार पीतम्बर, जनै श्रीखण्ड चन्दन कस्तुरीआदि सुगन्धित द्रव्य अनुलेपन गराई विभिन्न पूजाका सामग्रीले पूजा गरी धूपदीप नैवेद्यादि समर्पण गरेर तुलसी पत्र एवं मञ्जरीसहित विभिन्न सुगन्धित पुष्प अर्पण गरेर मन्त्रसहित पूजा गर्नुपर्दछ र यस मन्त्रले प्रार्थना गनुपर्दछ–
सुप्ते त्वयि जगन्नाथे जगत्सुप्तं चराचरम् ।

विबुद्धे त्वयि बुध्येत जगत्सर्वं चराचरम् ।। (भविष्यपुराण।) हेभगवान् हजुर सुत्नु भएपछि सम्पूर्ण जगत् सुत्तछ, भने हजुर उठेपछि जगत् फेरि जागा हुन्छ । यसरी पूजा गरी भगवानको प्रतिमालाई शैøयामा शयन गराउनुपर्दछ र भगवान्का अगाडि दुवैहात जोडेर यस मन्त्रले प्रार्थना गर्नुपर्दछ- चतुरो वर्षिकान् मासान् देवस्योत्थापनावधि । ग्रहीष्ये नियमाञ्छुद्धान् निर्विघ्नान् कुरु मे प्रभो ! ।। हजुर चार महिना शयन गर्नुहुन्छ, चार महिनापछि हजुरको बिउँझिने अवधि हो । यस अवधिमा म यथाशक्ति नियम पालन गरी व्रतबसी हजुरको आराधना गर्दछु । मेरो व्रत निर्विघ्न पूर्ण हवोस् भनी प्रार्थना गर्नुपर्दछ ।। यसरी भगवानलाई चार महिनासम्म शयन गराएर चार महिनाभरि विभिन्न नियमको पाना गर्नुपर्दछ ।
श्रावणे वर्जयेच्छाकं दधि भाद्रपदे तथा ।
दुग्धमाश्वयुजे मासि कार्तिके द्विदलं त्यजेत् ।।
कूष्माण्डान् राजमाषांश्च मूलकं गृञ्जनं तथा ।
करमर्दं चेक्षुदण्डं चातुर्मास्ये त्यजेन्नरः ।।
मसूरं बहुबीजं च वृन्ताकं चैव वर्जयेत् ।। इतयदि । भ.पु.
श्रावणमा सागपात खानु हुँदैन, भाद्रमा दही, असौजमा दूध र कार्तिकमा दाल खानु हँदैन । त्यस्तै कुभिण्डो, राजमा, मूला, गाँजर, ऊखु, मसुरो, बहुबीज अर्थात् धेरै बीज हुने बिमिरो आदि, भाण्टा, बयर, अमला, लौका, तित्री आदि पदार्थको सेवन गर्नु हुँदैन । अनि चतुर्मासाको व्रत गर्दा यथाशक्ति दान गर्नुपर्दछ । जस्तै अन्नदान, वस्त्रदान, गोदान तिलपात्रदान, भूमिदान, सुवर्णदान, ताम्रपात्रदान, घण्टादान आदि गरेर उद्यापन कर्म समाप्त गरी भगवानलाई सुताइएको प्रतिमासहित शैय्यादानसमेत गर्नुपर्दछ । सक्नेले अर्काे शैøया बनाएर दान गर्दा पनि हुन्छ । कार्तिक शुक्ल नवमी कूष्माण्ड नवमीमा कुभिण्डो दान गर्नुपर्छ ।

चतुर्मासामा भगवानलाई दैनिक हजार बत्तीले नीराजन गरेर लक्षदीपदान गर्नु पनि पुण्यदायक हुन्छ । कार्तिक महिनाभरि आकाश दीपदान पनि गर्नुपर्दछ । यसरी व्रत गरी कार्तिक शुक्ल द्वादशीका दिन प्रबोधोत्सव गरेर चातुर्मास्य व्रतको उद्यापन गर्नुपर्दछ । तुलसीका समीपमा यज्ञवेदी बनाएर अग्निस्थापना गरेर हवन, तर्पण, मार्जन र ब्राहृमणभोजन आदि गराई व्रत समाप्ति गर्नुपर्दछ । यसरी चातुर्मास्यको व्रत गर्दा भगवान् नारायण प्रसन्न भई यसलोकमा सुखसौभाग्य ऐश्वर्य प्राप्त भई परलोकमा मोक्षसमेत प्राप्त हुन्छ । त्यसैले हामी पनि हरिशयनी एकादशीको यथाशक्ति व्रत गरी चातुर्मास्य व्रत गरौं, हाम्रो कल्याण हुन्छ । ॐ हरये नमः।।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?