वैदेशिक रोजगारीबाट फर्किएकालाई अनुदान

हिमालय टाइम्स
Read Time = 4 mins

तनहुँ । व्यास नगरपालिका कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई अनुदान दिएकोछ । रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल रु २४ लाख ७५ हजार रुपैयाँ अनुदानस्वरुप वितरण गरेको हो ।

नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा बसेर विभिन्न व्यवसायमा आवद्ध भएका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको नगरपालिका कार्यालयले जनाएको छ । विदेशबाट फर्किएर व्यवसाय सञ्चालन गर्दै आएका ५७ व्यक्तिलाई अनुदान प्रदान गरिएको व्यास नगरपालिकाका लेखा अधिकृत कुमार कञ्चन जिसीले जानकारी दिनुभयो ।

अनुदानका लागि १०१ जनाको आवेदन परेकोमा ५७ जनालाई अनुदान प्रदान गरिएको छ । आवेदन परेकामध्ये १२ जनाको सुरुमा नै आवश्यक कागजात नपुगेकाले फर्काइएको उहाँले बताउनुभयो ।

यस्तै ८९ जनाको व्यवसायको स्थलगत अनुगमन गरी पूर्ण रुपमा मापदण्ड पूरा गर्ने ५७ व्यक्तिलाई अनुदान प्रदान गरिएको छ । नगरपालिकाले ६१ जनालाई अनुदान रकम, ५७ जनालाई प्रोत्साहन अनुदान प्रदान गरेको र तीन जनाले कृषि र पशुपालनबाट अनुदान पाएकाले दोहोरो नहुने गरी समावेश गरिएको छ ।

मापदण्ड पूरा गरेका व्यवसायको आकार अनुसार रु २५ हजारदेखि रु एक लाखसम्म अनुदान प्रदान गरिएको जिसीले बताउनुभयो । रु एक लाख भन्दा बढी अनुदान दिन नपाउने प्रावधान रहेकाले क्षेत्राधिकारभित्र रहेर वैदेशिक रोजगारीबाट फर्किएर यही व्यवसाय गर्ने व्यक्तिलाई अनुदान प्रदान गरिएको सूचना अधिकारी जिसीले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउने उद्देश्यले अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । स्वदेशमा नै स्वरोजगार भएर बस्ने वातावरण तयार गर्ने नगरपालिका तथा जनप्रतिनिधिको प्रतिबद्धता अनुसार अनुदान प्रदान गरिएको हो ।

विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्छ, भन्ने उद्देश्यले समृद्ध व्यास नगर बनाउन आवश्यक देखिएकाले अनुदानका कार्यक्रम ल्याइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । कृषिजन्य र गैरकृषिजन्य भूमिको वर्गीकरण गर्ने तयारीमा व्यास नगरपालिका रहेको छ ।

विदेशमा सिकेको सीपलाई यही उपयोग गर्दै यहाँ उत्पादित बाँस, कसेल्टाको मुडा, चकटी लगायतका सामाग्री निर्माण गरी विदेश निर्यात गर्ने विषयमा पनि छलफल भइरहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । युवालाई तालिम र सीप प्रदान गरी उद्यमशील बनाउने योजना नगरपालिकाले लिएको छ ।

यसवर्षको अनुदानमा नसमेटिएका व्यवसायीलाई आगामी वर्ष प्रदान गर्ने गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?