धनुषा अदालतका न्यायाधीश भट्टराईको जिम्मेवारी खोसियो

हिमालय टाइम्स
Read Time = 4 mins

-पुरन साह

जनकपुरधाम । सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि लागू हुने गरी उहाँलाई काजमा सर्वोच्च अदालतमा तानिएको हो । न्यायाधीश भट्टराईले गर्नुभएका केही फैसला विवादित भएपछि उहाँलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको सर्वोच्च स्रोतले जनाएको छ ।

उहाँले गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै सफाइ दिनुभएको थियो । पेस्तोल र गोलीसहित पक्राउ परेका आरोपितलाई सफाइ दिने फैसला विवादित बनेको थियो । पछिल्लो समय सर्वोच्च अदालतले फैसलामा कैफियत देखिएका तथा विवादास्पद फैसला गरेका विभिन्न न्यायाधीशलाई काजमा तान्ने कार्यलाई तीव्रता दिएको छ ।

यस्तो थियो घटना र अभियुक्त

जिल्ला अदालत धनुषाबाट प्रमाण अपुग भएपछि हत्याका अभियोग लागेका एक व्यक्तिले सफाइ पाएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम–१४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई अदालतले प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।

न्यायाधीश भट्टराईको इजलासले अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण दामोदरलाई सफाइ दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिनुभयो । दामोदरलाई प्रहरीले घटनालगतै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दुई थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र चार राउन्ड गोली तथा पंकजको झोलाबाट एक थान कटुवा पेस्तोल र त्यसको दुई राउन्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउन्ड गोली बरामद गरेको  थियो ।

हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी पीडित परिवारले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो । पंकजलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो । प्रहरीका अनुसार त्यसबेला अनुसन्धानका क्रममा पंकजले आफूले हत्या गरेको स्वीकार पनि गरेका थिए ।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा उधारो पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहाल भएको थियो । सोहीक्रममा पंकजले गोली हानेको आरोप लागेको थियो । गोली प्रहारबाट मनोजको घटनास्थलमै मृत्यु भएको थियो । मनोजले धनुषाको सपहीमा सञ्चालन गरेको पेट्रोल पम्प शिव आयल स्टोरबाट निर्माण व्यवसायी पंकजले डिजेल पेट्रोल उधारो लिएका थिए । इन्धनको बाँकी बक्यौता आठ लाख रुपैयाँका लागि ताकेता गर्न जाँदा मनोजको हत्या भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?