सन्दर्भ २०९औँ भानुजयन्ती : घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा

हिमालय टाइम्स
Read Time = 5 mins

तनहुँ । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास-१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।

प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ । भानुभक्तकाे मामाघर (हालको व्यास-५) मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने महान् विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गर्नुभएको थियो ।

भर्जन्म घाँसतिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो ।

हाल कुवा रहेको पारीपट्टि पोल्याङ गाउँमा पन्थ थरका ब्राह्मणको बस्ती छ । कुवाको नजिक पन्थ बस्ती रहेकाले पन्थ नै घाँसी भएको अनुमान गर्न सकिने भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताउनुभयो ।

पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत स्थानमा रहेको बुल्दी खोला किनारको भागलाई उठाएर समथर बनाएर संरक्षण गर्न सकिने विकल्पबारे स्थानीयवासीले सुझाव दिँदै आएका छन् । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा ऐतिहासिक कुवाको अस्तित्व मेटिने हुँदा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने व्यास नगरपालिका-११ पोल्याङ घाँसीकुवा निवासी भोजराज पन्थले बताउनुभयो । “जिजुबाजेदेखि जोगाउँदै आएको सम्पदा हो”, उहाँले भन्नुभयो, “भत्काएर इतिहास मेट्न हुँदैन, संरक्षणमा लाग्नुपर्छ ।”

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरी दिँदा पहिचानमा कठिनाइ भएको भानु-घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउनुहुन्छ । हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानुघाँसी उद्यान बनाउन दिने निर्णयसमेत भएको समितिका सदस्य प्रेम पन्थले जानकारी दिनुभयो ।

घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई व्यास-१२ कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । कुवा नरहे भानुभक्तको पहिचानमा असर पर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने घाँसीकुवामा चमेनागृह सञ्चालन गर्दैआउनुभएकी लीलावती पन्थले बताउनुभयो ।

उक्त कुवा र उद्यान संरक्षणका लागि तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । चिनीयाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा-मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टो पुर्ने कार्य गरिरहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पूरा हुने गरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ ।

मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालेको छ । सो कम्पनीले सडक फराकिलो गर्न रु ६ अर्ब १४ करोडमा ठेक्का सम्झौता गरेको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?