कविता : म को हुँ ?

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ दुर्गाकिरण तिवारी

जीवनका रंगमञ्चमा
उत्तर खोज्छु
मैले भोगेका कैयौं अभिनयहरूसँग
मैले भेटेका कैयौं पात्रहरूसँग
मैले रोजेका कैयौं रहरहरूसँग
मैले बिताएका कैयौं प्रहरसँग र
हिजो र आजको यो समयसँग
हो म बारम्बार प्रश्न गर्छु
अनि म आफैँसँग प्रश्न गर्छु
आखिर म को हुँ ?

अन्तर चक्षुमा आन्दोलित भएर
मडारिएका छन् आलोडित भावनाहरू
ठोक्किएका छन् पहराहरूमा अनवरत
रहस्यको सार खोज्दै
भीषण गंगाका छालहरू जस्तै ।

कैयौं अभिनयहरू भए
कैयौं पात्रहरू र रंगमञ्च फेरिए
कैयौं कथाहरू फेरिए
सिंगो जीवन फेरियो
म मेरै ‘म’ हुनुको संरचना खोजिरहेछु
मस्तिष्कमा एउटा भयानक हुरी चल्छ
उद्वेगको पराकाष्ठा नाघ्ने गरी ।

म शाश्वत सिंगो चित्रको खोजीमा छु
सृष्टिको निर्वाणको खोजीमा छु
मेरो औचित्य के हो
प्रकृतिको माझ
म हुनुको प्रयोजन पहिचान गर्दै
समग्रमा त्यसको मर्म सम्प्रेषण गर्न खोज्दै छु
त्यसैले म स्वयंकै संवेदना खोतल्दै छु
अचेतनका कुनाकन्दरा छाम्दै छु
र म अझै उत्तर खोजिरहेछु
आखिर म को हुँ ?

कास्की पोखरा-३२
हाल : काठमाडौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?