संसद्मा विपक्षीले उठाए हतियार खरिद प्रकरण, तत्कालीन अर्थमन्त्री शर्माले ८४ करोड रकमान्तर गरेको आरोप

अनिल क्षेत्री
Read Time = 7 mins

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसद्को विशेष छानबिनमा पर्नुभएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा राजीनामा घोषणा गरेर मन्त्रालय फर्किएपछि हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रकमान्तर प्रकरणमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको आशंका गर्दै पूर्व-गृहमन्त्रीसमेत रहनुभएका एमाले सांसद खगराज अधिकारीले भन्नुभयो, ‘प्रहरी वा सुरक्षा निकायको कुनै पनि निकायले नमागेका घातक हतियार खरिदका लागि बजेट रकमान्तर गरिएको विषयमा सरकारले संसदमा स्पष्टीकरण दिनुपर्छ । राजीनामा दिएर गएर हतियार खरिदका लागि रकमान्तर गरिएको र यसमा प्रधानमन्त्रीले आदेश दिएको हो कि होइन भन्ने प्रष्ट पार्नुपर्छ । इटलीको बदनाम कम्पनीको हतियार खरिद गर्नका लागि भइरहेको प्रपञ्च करोडौँ कमिसनका खेल हो ।’

संसद्मा नागरिकता विधेयक पेश
विपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न मागेको अनुमतिमा एमाले र नेमकिपाका गरी तीनजना सांसदहरूले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गर्नुभएको थियो । नागरिकता विधेयक पेश गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, ‘संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गर्न नमिल्ने व्यवस्था भएकाले संशोधन विधेयक ल्याइएको हो । संविधानमा नागरिकतासम्बन्धी व्यवस्थामा संघीय कानुनबमोजिम हुने भनिएकाले विधेयक पेश भएको हो ।’ बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गर्नुभएको थियो । सभामुख अग्नि सापकोटाले विधेयकविरुद्ध परेका तीनवटा विरोधका सूचना निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । विरोधको सूचना अस्वीकृत भएसँगै सरकारले नागरिकता विधेयक अघि बढाएको हो ।

उपसभामुख निर्वाचनको प्रक्रिया आजबाट
उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक गरेको उपसभामुख निर्वाचनको कार्यतालिकाअनुसार उपसभामुखमा मनोनयन दर्ता आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म गर्नुपर्नेछ । त्यस्तै, मतदान भने शुक्रबार हुनेछ । उपसभामुख चयनको लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने
सत्तारूढ पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाइमा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउन लागिएको कांग्रेसका नेताहरूले बताएका छन् ।
अर्घाखाँचीकी भुसाल कांग्रेसको समानुपातिकतर्फको सांसद तथा संसद्मा कांग्रेसकी सचेतक हुनुहुन्छ । सचेतक भुसालले पार्टीको निर्णयअनुसार नै आफूले उपसभामुख पदका लागि उम्मेदवारी दिन लागेको पुष्टि गर्नुभयो । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएकी भुसाल पहिलो संविधानसभाको अर्घाखाँची-२ बाट निर्वाचित हुनुभएको थियो ।

डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ मा राजीनामा दिएसँगै प्रतिनिधिसभा उपसभामुख रिक्त रहेको थियो । २०७४ मा प्रतिनिधिसभा निर्वाचनलगत्तै पनि भुसाललाई कांग्रेसले उपसभामुखको उम्मेदवारका रूपमा अगाडि सारेको थियो । त्यसबेला उहाँ तुम्बाहाङ्फेसँग पराजित हुनुभएको थियो । संवैधानिक निकाय तथा विभिन्न महत्वपूर्ण अंगहरूमा अध्यक्ष तथा पदाधिकारी नियुक्त गर्ने ६ सदस्यीय संवैधानिक परिषद्मा उपसभामुख सदस्य रहने व्यवस्था छ ।

संविधानले नै प्रतिनिधसभाको सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । सभामुख सापकोटा माओवादीबाट निर्वाचित सांसद हुनुहुन्छ । २०७४ सालको आमचुनावमा पछि माओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुख हुनुभएको थियो । यौन दुव्र्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिनुभएको थियो ।

संसदमा सत्ता गठबन्धनमा रहेका दलहरूको स्पष्ट बहुमत रहेका कारण कांग्रेसका उम्मेदवारले सभामुखको निर्वाचन जित्ने अवस्था छ । प्रतिनिधिसभामा अहिले एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र समेत गरी चार जना सांसद छन् । उपसभामुखको उम्मेदवार छनोटबारे सत्तारूढ दलहरूले छलफल गरेर उपसभामुख कांग्रेसलाई दिने सहमति गरेका थिए । कांग्रेसले उपसभामुख पाउने भएपछि कांग्रेस नेतृ डिला संग्रौलाले पनि उपसभामुख पद दाबी गर्नुभएको बताइएको छ । उपसभामुखमा जनता समाजवादी पार्टीले पनि दाबी गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?