ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व‍ाम एकता र तालमेलको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीको जवाफमा ताली बजाएकोप्रति गुनासो गर्नुभएको छ ।

शनिबार ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटोे’ विषयमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वाम एकता र तालमेलको विषयमा आफनो र ओली दुवैको भनाइमा ताली बजाएको भन्दै असन्तुष्टि जाहेर गर्नुभएको हो ।

‘मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन उपरोक्त अपिल गर्दासमेत हलमा उपस्थित स्रोता सहभागीहरूले कर्तलध्वनिका साथ ताली बजाएर समर्थन गर्नुभएको थियो,’ श्रेष्ठले भन्नुभएको छ, ‘तिनै स्रोता सहभागीहरूले कमरेड ओलीले अहंकारको प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनुभयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्‍याउँछ त ? पुर्‍याउँदैन । हामी कहिले सच्चिने होला ? गम्भीरतापूर्वक सोचौं ।’

श्रेष्ठका अनुसार सो कार्यक्रममा नेपालका वामपन्थी शक्तिहरूले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति प्रयत्नलाई नै निरन्तरता दिने हो भने वामपन्थी आन्दोलन नै धराशयी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले वामपन्थी शक्तिहरूबीचको तालमेल, मोर्चा र एकताको आवश्यकता औ‌ल्याउनुभएको थियो ।

‘मैले सबै सम्बन्धित पार्टी र नेताहरूलाई देश, जनता र वाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै विनम्रतापूर्वक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएँ’ श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले को छ र अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो ।

ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथिसमेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन ।’ उहाँका अनुसार ओलीको सो अभिव्यक्तिले देश जनता र वामपन्थी आन्दोलनलाई कुनै पनि योगदान पुर्‍याउने छैन ।

‘त्यसक्रमा मैले आमनेता, कार्यकर्ता र बुध्दिजीवीहरूलाई ‘आफ्नो पक्ष’को अन्धतापूर्वक समर्थन र वकालत गर्ने वकिल जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौं र ठीकलाई ठीक बेठीकलाई बेठीक भन्ने साहस तथा संस्कृति प्रदर्शन गरौं भन्ने अपिल पनि गरेको थिएँ’ श्रेष्ठले गुनासो गर्दै भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?