गजल, कविता, साहित्य लेखिएका सवारीसाधन कारबाहीमा

हिमालय टाइम्स
Read Time = 2 mins

तनहुँ । जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारी साधनलाई कारबाही गरेको छ ।

उक्त सवारी साधानलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु एक लाख ५० हजार सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सवारी साधनमा लेखिएका अश्लिल, अपाच्य गालीगलौच, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजल र साहित्यलगायतका लेख हटाउन थालेको हो ।

अगाडिका सवारी साधनमा लेखिएका त्यस्ता लेखप्रति पछाडि गुडिरहेका अन्य सवारी चालकको ध्यान जाँदा दुर्घटना हुने गरेको पाइएकाले यस्ता लेख हटाउन अभियानकैरुपमा लागेको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।

सवारी साधनमा समाजमा पच्न नसक्ने तथा विभिन्न वर्ग, समुदायलाई असर पर्ने लेख र दुईअर्थी शब्द देखिने गरेकाले अभियानमार्फत हटाउन थालेको उहाँले बताउनुभयो । उक्त अभियानले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यस किसिमका साहित्य लेखिएका सवारी साधनलाई रोकेर स्टीकर भए उप्काएर हटाउने र लेखिएको भए मेटने कार्य गरिएको छ ।

त्यसैगरी ट्राफिक प्रहरीले सवारी साधनका सिसामा कालो प्लाष्टिक टाँस्ने गरेको पाइएकाले त्यस्ता कार्यलाई समेत बन्देज लगाएको छ । सवारी साधनमा कालो स्टीकर टाँस्दा भित्र के भइरहेको छ भन्ने देख्न नसकिने भएकाले हटाउन लगाइएको प्रहरी नायब निरीक्षक नेपालले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?