अन्ततः एआइजी पोखरेलद्वारा राजीनामा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो ।

‘एआइजी पोखरेलको राजीनामा पत्र आवश्यक प्रक्रियाका लागि गृह मन्त्रालय पठाइन्छ । तर, राजीनामा स्वीकृत गर्ने काम मन्त्रिपरिषद्ले गर्नेछ’, प्रवक्ता राईले भन्नुभयो । गत असार ३१ गते सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई निरन्तरता दिने आदेश दिएपछि पोखरेलले सोमबार राजीनामा पत्र बुझाउनुभएको हो । प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी पोखरेलले विसं. २०७९ वैशाख १९ गते सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलिपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुग्नुभएको थियो । तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।

पोखरेल महानिरीक्षकमा बढुवा भएको भए २०७९ चैतसम्म प्रहरी सेवामा रहनुहुन्थ्यो । तर, सिंह आइजिपी बनेपछि पोखरेल एआइजीको उमेर हदका कारण आगामी २० गतेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्थ्यो । त्यसअघि नै उहाँ नियमित काममा नफर्की राजीनामा दिएर बाहिरिनुभएको हो । आइजिपी सिंह र एआइजी पोखरेल २०४९ चैतमा एकैदिन प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?