आकाश हेर्दै बित्यो असार : परेन पानी, भएन रोपाइँ, देशभर अत्यधिक गर्मी, रापेको धान खडेरीले सुक्दै

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । साउन पहिलो सातासम्म मुलुकका अधिकांश स्थानको रोपाइँ सकिसक्नु पर्ने हो । तर, पर्याप्त पानी नपर्दा आधाजसो किसानले रोपाइँ गर्न पाएका छैनन् । केही दिन पानी परेको मौका छोपेर रोपाइँ गरेका किसान उल्टै पीडामा छन् । रोपाइँ त गरियो तर, खडेरीले खेत चिरा पर्न थालेका छन् । भर्खर रोपेको धान सुक्न थालेको छ । आकाशे पानी नपरेपछि रोपेको धान सुक्न थालेको हो । असार महिनाभर पर्याप्त पानी नपरेपछि धानको बिउदेखि जेनतेन गरी रोपेको धान पनि सुक्न थालेको किसानको गुनासो छ ।

धान रोपेको गह्रा पनि फाटेर चिरा पर्न थालिसकेको बाँकेको जानकी गाउँपालिका-३ का किसान बिर्जाप्रसाद जरवटले बताउनुभयो । बाँकेमा मात्रै होइन गुल्मीका किसानको पीडा पनि उस्तै छ । असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नु पर्ने म्याग्दीका ग्रामीण भेगका खेत साउन पहिलो सातासम्म बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेको र रोपेको धानको बिउसमेत मर्न लागेको बेनी नगरपालिका–९ का किसान विमला सुवेदीले बताउनुभयो ।

बाँके र गुल्मी मात्रै होइन सुदूरपूर्वदेखि पश्चिमसम्मका किसानको पीडा उस्तै छ । समयमा वर्षा नहुँदा धेरै खेत अहिलेसम्म बाँझै छन् । कतिपयले रोप्नै पाएका छैनन् भने ठूलो मूल्य र परिश्रम गरेर रोपाइँ गरिएको धानबालीमा पानीकै अभावमा डढेलो लाग्ने अवस्था सिर्जना भएको छ । पर्याप्त पानी नपर्दा रोपाइँ गर्न नपाएका र रोपेको खेतसमेत खडेरीले चिरा पर्न थालेको पीडा एकातिर छँदै छ । अर्कोतिर किसानले मलसमेत पाएका छैनन् ।

मनसुन निष्क्रिय हुँदा देशभर गर्मी
साउन पहिलो सातासम्म पनि पर्याप्त पानी नपर्दा देशभर गर्मीसमेत बढेको छ । विशेष गरी तराईका जिल्लामा अत्यधिक गर्मी बढेको हो । तराईबाहेक काठमाडौं उपत्यकामा समेत पछिल्लो केही दिन निकै गर्मी महसुस गरिएको छ । मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको मौसमविद्हरूले बताएका छन् । केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मी अनुभव भएको उनीहरूको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले हाल देशको विभिन्न भागमा तापक्रम बढेकोले अत्यधिक गर्मी हुनु स्वाभाविक रहेको बताउनुभयो । मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उहाँको भनाइ छ । ‘देशको विभिन्न भागमा तापक्रम बढेकोले अत्यधिक गर्मीको अनुभव गरिएको छ,’ उहाँले भन्नुभयो, ‘वर्षा नहुनेबित्तिकैै अलि गर्मीको अनुभव हुन्छ । यो स्वाभाविक हो ।’ पानी पर्नासाथ गर्मी कम हुने उहाँको भनाइ छ ।

एक/दुई दिनमै वर्षा हुन्छ
अब एक/दुई दिनमै वर्षा हुने मौसमविद्को भनाइ छ । मौसमविद् विभूति पोखरेलले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने बताउनुभयो । हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको उहाँको भनाइ छ । एक/दुई दिनभित्रमै मनसुन ट्रफ विस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने उहाँले बताउनुभयो । ‘देशभर तत्काललाई मनसुन ‘ट्रफ नर्मल पोजिसन’मा छ । त्यसले गर्दा अलिकति नेपालमा ब्रेकको जस्तो स्थिति देखिएको थियो,’ उहाँले भन्नुभयो, ‘अब एक/दुई दिनमै मनसुन ट्रफ विस्तारै माथि सर्ने सम्भावना छ । त्यो सम्भावनासँगै फेरि देशभरि पानी पर्ने सम्भावना हुन्छ ।’

मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताउनुभयो । त्यस्तै, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?