साउन लाग्दा पनि अधिकांश खेत बाँझै

हिमालय टाइम्स
Read Time = 6 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावका कारण खेतका गह्रा धाँजा फाटेका छन् । रोपेको धानको बिउसमेत मर्न लागेको किसानहरूले बताएका छन् । ‘पोहोर, परार साल यतिबेलासम्म सबैै खेत रोपेर सकिन्थ्यो तर यो पाली भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा रोपाइँ हुन सकेन,’ बेनी नगरपालिका-९ की विमला सुवेदीले भन्नुभयो, ‘पानी पर्ला भनेर राम्रोसँग नपकाइकन मकै थन्क्याइयो, रोपाइँको तयारीका लागि खेतका गह्रा खाली गरिए तर वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि खेत बाँझै छ ।’

पुलाचौरका नवीन बानियाँले पोहोर सालको तुलनामा अहिले पानी नपरेका कारण सबै खेत बाँझै रहेको बताउनुभयो । ‘बिउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो, यसपटक धान उत्पादन नै मुस्किल हुने भयो,’ उहाँले भन्नुभयो । सुवेदी र बानियाँले जस्तै जिल्लाका धेरै किसानले वर्षा नभएका कारण रोपाइँ गर्न पाएका छैनन् । किसानहरू आकाशतिर हेर्दै भगवान् पुकारेर पानी मागिरहेका छन् तर पानी नपरेका कारण कतिपय ठाउँमा रोपाइँ भएको छैन, रोपाइँ भएका ठाउँमा पनि चिराचिरा परेर धाँजा फाटेको र रोपो मर्न लागेको किसानहरूले बताएका छन् । ‘गाउँलेहरूले पानी देऊ भगवान् भनेर भजनकीर्तन गर्न थालेका छन् तर पानी परेको छैन,’ बेनी नगरपालिका-७ का शिव घिमिरेले भन्नुभयो, ‘न समयमा मलबिउ पाइन्छ, न त वर्षा हुन्छ, यसपटक धान उत्पादन राम्रो हुने लक्षण छैन ।’

विगतका वर्षको तुलनामा यस वर्ष वर्षाको सम्भावना धेरै रहेको र बाढीपहिरो जान सक्ने कारण सतर्कता अपनाउन मौसम विभागले भनेको समाचार आएपछि समयमा नै रोपाइँ सकेर उम्किएर बस्न भन्दै पूरा नपाकेका मकैसमेत कृषकहरूले थन्क्याएर खेत खाली गरेका थिए । तर, समाचारमा भनिएको जस्तो न त वर्षा भयो, न त पुस्टिएका मकै थन्क्याउन किसानले पाए । जिल्लाका धेरै स्थानहरूमा यस्तै समस्या भइरहेको कृषकहरूले बताएका छन् ।

कुलो र नहरको सुविधा भएको, खोला तथा नदी तटीय क्षेत्र र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेतहरू पनि सिँचाइको समस्यामा पटपटी फुटेका किसानहरू बताउँछन् । ‘आकाशे पानीको भरमा भल छोपेर रोप्नुपर्ने ठाउँमा त रोपाइँ नै भएको छैन, धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पटपटी फुटेको छ,’ बेनी नगरपालिका-२ बगरफाँटका जितबहादुर कार्की भन्नुहुन्छ, ‘झमझम पानी पर्ने समयमा दिनभरि टन्टलापुर घाम लाग्छ । चर्को घामकै कारण अलिअलि रसाउन लागेका मूल पनि सुकिसके । पानी पर्ने लक्षण नै छैन, के गरी रोपाइँ गर्ने हो ? अब वर्षा भएछ भने पनि साउनमा रोपेको धान राम्रो फल्ने कुरै भएन ।’

कृषि ज्ञानकेन्द्र कार्यालय म्याग्दीका अनुसार मंगलबारसम्म जिल्लामा करिब ६८ प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँहरूमा नै पानीको अभावका कारण करिब आधाजति रोपाइँ भएको सूचना स्थानीय तहका प्राविधिकहरूले दिएको उहाँको भनाइ छ । सिंगा, बाबियाचौर, बगरफाँट, रत्नेचौरलगायतका राम्रो धान उत्पादन हुने क्षेत्रमा नै समयमा रोपाइँ भएको छैन । करिब ६८ प्रतिशत रोपाइँ भएको छ । थोपा-थोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गह्राहरू चर्किएका किसानहरूले बताएका छन् । काम सकेर फुर्सदिला हुने समयमा किसानहरू काम नै (रोपाइँ)  गर्न नपाएर पिरोलिएर बसेका छन् ।

साउन लाग्दासम्म पनि रोपाइँ हुन नसक्दा यस वर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा कृषकहरू छन् । प्रमुख खाद्य बाली पनि धान नै भएकाले पनि वर्ष दिन खानुपर्ने अन्नको अभावमा अबको वर्ष बित्ने हो कि भन्ने चिन्ता उनीहरूलाई लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?