“अन्तर्राष्ट्रिय मान्यताप्राप्त ‘स्किल टेस्ट’ तालिम सुरु गरेका छौँ’’

Read Time = 8 mins

नेपालबाट अदक्ष र अर्धदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेकाले धेरैजसो कामदार समस्यामा पर्ने गरेका छन् । एकातर्फ न्यून पारिश्रमिकमा काम गर्नुपर्ने र अर्कातर्फ जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता रहेको छ । त्यसैगरी कतिपय कामदार विदेशमा अलपत्र पर्ने अवस्थासमेत रहेको छ । उल्लेखित समस्यालाई मध्यनजर गर्दै म्यान फोर्स स्किल डेभलपमेन्ट सेन्टर सञ्चालनमा आएको छ । काठमाडौंको धापासीस्थित सेन्टरले तालिमका साथै स्किल टेस्ट कार्यक्रम सञ्चालन गरेको छ । सेन्टरले मलेसियाको कन्ट्रक्सन इन्डस्ट्रियल डेभलपमेन्ट बोर्ड (सिआइडिबी) बाट सर्टिफाइड गराएर कामदारलाई पठाउने गरेको छ । नेपालमा यस्तो सेन्टर नयाँ भएको सेन्टरका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । त्यसो त सरकारीस्तरको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले स्किल टेस्ट गर्ने गरेको छ तर विदेशमा मान्यता छैन । त्यसैले सिआइडिबी सर्टिफाइडका लागि म्यान फोर्स स्किल डेभलपमेन्ट सेन्टरलाई सिटिइभिटीले पनि सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ । सिआइडिबीका बारेमा ठमेल पर्यटन विकास परिषद्मा कोषाध्यक्षसमेत रहनुभएका उक्त सेन्टरका प्रवन्ध निर्देशक पुण्यराम लगेजुसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :

म्यान फोर्स स्किल डेभलपमेन्ट सेन्टरले के काम गर्छ ?
वैदेशिक रोजगारीमा जाने र जान चाहने नेपाली कामदारलाई आवश्यक तालिमसहित दक्ष बनाउने काम गर्छ । जसलाई हामी मलेसियाको कन्ट्रक्सन इन्डस्ट्रियल डेभलपमेन्ट बोर्ड (सिआइडिबी) बाट सर्टिफाइड गराएर पठाउँछौँ । जसबाट नेपाली कामदारले मलेसियामा आफ्नो सीपअनुसारको सेवा सुविधा पाउन सक्छन् ।

सिआइडिबी मलेसियाका लागि मात्रै सर्टिफाइड कम्पनी हो ?
होइन, मलेसियामात्रै नभई एसियाका धेरै मुलुकमा सर्टिफाइड कम्पनी हो ।

तालिमका लागि कति शुःल्क तिर्नुपर्छ ?
निःशुल्क हो, वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई हामी निःशुल्क तालिम प्रदान गर्छांै । डेढ महिनादेखि तीन महिनासम्मको कोर्स हुन्छ । सोहीअनुसार तालिम प्रदान गरिन्छ ।

कति प्रकारका तालिम दिनुहुन्छ ?
प्लम्बिङ, कन्ट्रक्स, टाइलिङ, होटल म्यानेजमेन्टलगायतका तालिम प्रदान गरिन्छ तर अहिले चाहिँ कन्ट्रक्सन तालिम र स्किल टेस्ट सुरु गरेका छौँ । सिआइडिबीका प्रतिनिधिहरूको उपस्थिति र निगरानीमा स्किल टेस्ट पूरा गरेपछि मात्रै कामका लागि मलेसिया पठाउने गरिन्छ । तालिमस्थलको चारैतिर सिसिटिभी जडान गरिएको छ, जसलाई मलेसियास्थित सिआइडिबीको केन्द्रीय कार्यालयले समेत प्रत्यक्षरूपमा निगरानी गरिरहेको हुन्छ ।

अहिलेसम्म कतिलाई तालिम दिइसक्नुभयो ?
कम्पनी स्थापनापछि पहिलोपटक हामीले तालिम (स्किल टेस्ट) सञ्चालन गरेका हौँ । तालिम भने पहिले पनि सञ्चालन हुँदै आएको थियो । पहिलो चरणमा ५४ जना नेपाली दाजुभाइको स्किल टेस्ट गरिएको हो ।

अन्यत्र तालिम लिएका जनशक्तिको पनि स्किल टेस्ट हुन्छ ?
हुन्छ, हामी आफैं पनि तालिम दिन्छौँ र अन्यत्र तालिम लिइसकेकाको पनि स्किल टेस्ट गरेर प्रमाणपत्र दिन्छौँ । जसबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदार लाभान्वित हुन सक्नेछन् ।

कन्ट्रक्सनबाहेकका तालिम हुँदैनन् ?
हुन्छन्, तत्कालका लागि कन्ट्रक्सन क्षेत्रको जनशक्तिको माग आएकाले कन्ट्रक्सनसम्बन्धी स्किल टेस्ट सञ्चालन गरिएको हो । क्रमिकरूपमा अन्य विधागत सीपको तालिम र स्किल टेस्ट पनि हुनेछन् । स्काफोल्डिङ र टाइलिङको तालिम सञ्चालन भइरहेको छ भने होटल म्यानेजमेन्ट, हाउसकिपिङ, एग्रो फार्मिङलगायतका तालिम पनि सञ्चालन गर्ने तयारी छ ।

सबै विधामा तालिम दिन कत्तिको सम्भव छ ?
चुनौती त छ, तालिम सञ्चालनका लागि तालिमस्थलको व्यवस्थापन त्यति सहज छैन, ठाउँ अभाव छ तर पनि हामी प्रयासरत छौँ । कृषि क्षेत्रको तालिमका लागि पनि उपयुक्त ठाउँको खोजी गरिरहेका छौँ ।

यसरी तालिमप्राप्त कामदारले मलेसियामा बढी सेवा सुविधा पाउँछन् ?
स्वतः उनीहरूले अदक्ष र अर्धदक्षभन्दा बढी पारिश्रमिक र सेवा सुविधा पाउँछन् । उनीहरूले सामान्य कामदारभन्दा डेढ गुणा बढी पारिश्रमिक पाउँछन् । त्यतिमात्र नभई सोचेजस्तो काम नपाएर विदेशमा अलपत्र पर्ने समस्या पनि हुँदैन । त्यस्तै मलेसियन सरकारबाट पाउने सेवा सुविधा पनि हुनेछ ।

मलेसियाबाहेकमा मुलुकका लागि पनि सिआइडिबी सर्टिफिकेटले काम गर्छ ?
मलेसियामा मात्र नभई सबै अरेबियन मुलुकमा सिआइडिबी सर्टिफिकेटले काम गर्छ ।

कम्पनी कहिलेदेखि सञ्चालनमा ल्याउनुभएको हो ?
कोरोनाअघि नै स्थापना गरिएको हो तर कोरोनाका कारण सञ्चालनमा ल्याउन सकिएको थिएन । कोरोना सामान्य हुँदै गएपछि काम सुरु गरिएको हो । वास्तवमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई दक्ष बनाएर पठाउन सकिएमा कामदारमात्रै नभई देशसमेत लाभान्वित हुन सक्छ । इज्जत हुने र देश पनि लाभान्वित हुने भएकाले हामीले यसप्रकारको कार्यक्रम सुरुवात गरेका हौँ । वैदेशिक रोजगारमात्र नभई स्वदेशमै रोजगारी गर्न चाहनेका लागि पनि तालिम र स्किल टेस्ट आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?