पिएसजीको जितमा स्टारत्रयको गोल

हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । स्टारत्रय नेयमार, केलियन एमबाप्पे र लियोनेल मेस्सीले गोल गर्नुभएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित हात पारेको छ । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा पिएसजीले जापानी क्लब गाम्वा ओसाकामाथि ६-२ को जित हात पारेको हो । पिएसजीको सानदार जितमा नेयमारले दुई तथा पाब्लो साराविया, लियोनेल मेस्सी, नुनो मेन्डेस र केलियन एमबाप्पेले समान एक-एक गोल गर्नुभयो । जापानी टोली ओसाकाका केइसुके कुरोकावा र हिरोटो यामामीले एक-एक गोल फर्काउनुभयो ।

खेलको २८औँ मिनेटमा पाब्लो सारावियाको गोलबाट पिएसजीले अग्रता लियो । ३२औँ मिनेटमा नेयमारले पेनाल्टी गोलमार्फत् अग्रता दोब्बर पार्नुभयो । त्यसको एक मिनेटपछि केइसुके कुरोकावाले गोल गर्दै खेललाई दुई–एक को स्थितिमा ल्याउनुभयो । ३७औँ मिनेटमा नुनो मेन्डेसले तथा ३९औँ मिनेटमा लियोनेल मेस्सीले गोल गरेपछि पिएसजीले पहिलो हाफमा चार-एकको अग्रता बनाएको थियो ।

६०औँ मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गर्नुभयो । ७०औँ मिनेटमा हिरोटो यामामीले गोल गर्दै खेललाई पाँच-दुईको स्थितिमा ल्याउनुभयो । ८६औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई जित दिलाउनुभयो ।

प्रि–सिजनमा पिएसजीको यो लगातार चौथो जित हो । यसअघि पिएसजीले क्विभिली, कावासाकी फ्रन्टाले र उरावा रेड डाइमन्ड्सलाई पराजित गरेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?