स्टार्टअपको ग्र्याजुएसन र दोस्रो ब्याच सुरु

Read Time = 2 mins

मोरङ । उद्योग संगठन मोरङले नवीन व्यावसायिक सोचविचार तथा अवधारणा भएका युवालाई उद्यमशीलतामा रूपान्तरण गर्ने उद्देश्यका साथ गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत पहिलो ब्याचको ग्र्याजुएसन तथा दोस्रो ब्याचको शुभारम्भ गरेको छ ।

नमुना कार्यक्रमका रूपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायलाई निःशुल्करूपमा व्यावसायिक योजना तर्जुमा, मार्गदर्शन एवं परामर्श, अनुसन्धान र प्रयोगशाला परीक्षण सहजीकरण, सञ्जालीकरण र अन्तरक्रिया, व्यवसाय दर्ता, कानुनी एवं प्रशासनिक परामर्श, वित्तीय पहुँचका लागि लगानीकर्ता तथा बैंक एवं वित्तीय संस्थासमक्ष समन्वय तथा सहजीकरणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको थियो ।

कार्यक्रमअन्तर्गत स्टार्टअपलाई व्यावसायिक योजनाअनुरूप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पमा बिजनेस क्यानभास मोडल, बिजनेस हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रम आयोजना गरी परामर्श सेवा उपलब्ध गराइएको उद्योग संगठन मोरङले जनाएको छ । पहिलो ब्याचमा सहभागी १९ स्टार्टअपमध्ये सातजना बुधबारको ग्र्याजुएसन कार्यक्रममा सहभागी भएका छन् ।

पहिलो वर्षको अनुभवबाट सिक्दै थप प्रभावकारीरूपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसाय रहने गरी दोस्रो ब्याचका लागि प्रस्ताव आहृवान गरी कार्यक्रमलाई निरन्तरता दिइएको संगठनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?