महँगी र भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रदर्शन, सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महँगीविरुद्ध सरकारको ध्यानाकर्षण नभए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा बढ्दो महँगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । बुधबार राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो ।

काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुरलगायत मुख्य शहरमा पनि विरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ । विरोध प्रदर्शनपछि सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरूले सरकारलाई बढ्दो महँगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकाले शान्तिपूर्ण रूपमा दोस्रो चरणको आन्दोलन बुधबारबाट सुरु गरेको बताउनुभयो । उहाँले संगठनले बुधबार शान्तिपूर्ण रूपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाइमा सरकारले गरेको महँगीको विरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौँ । हाम्रो दोस्रो चरणको आन्दोलन पनि सुनुवाइ भएन भने तेस्रो चरणको आन्दोलन भदौको पहिलो हप्तामा सुरु गर्नेछौँ ।’

महँगीले नेपालीहरूको भान्सा महँगो भएको भन्दै जनता यस्तो अवस्थामा खान नसक्ने अवस्थामा पुगेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरुद्ध सडकमा आन्दोलन गर्दै आएको छ । राप्रपाले महँगीलाई नियन्त्रण गरेर जनतालाई राहत पुर्‍याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

राप्रपा बलियो भए मात्र देश बलियो हुन्छ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बलियो भए मात्र देश बलियो हुने बताउनुभएको छ । उहाँले राप्रपा मात्रै देश बचाउने पार्टी भएकाले राप्रपाप्रति सबैको आकर्षण बढ्दै गएको दाबी गर्नुभयो । धनगढीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘अब राप्रपा देशको वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढिसकेको छ, कसैले चाहेर पनि रोक्न सक्दैन ।’

यसअघि मंगलबार अध्यक्ष लिङ्देनले राजा राखेर मात्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको थियो । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले राजा चाहिन्छ भन्दा कोही पनि डराउनु नपर्ने भन्दै राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो । यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?