मधेश प्रदेश औद्योगिक सम्मेलन

Read Time = 5 mins

बारा । आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र युकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो । सम्मेलनकै क्रममा परिसंघले बारा-पर्सा उद्योग संघसमेत गठन गरेको छ । संघको अध्यक्ष वीरेन्द्र संघाई रहनुभएको छ । परिसंघले संगठन विस्तार गर्नेक्रममा बारा-पर्सा उद्योग संघ गठन गरेको हो ।

बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताउनुभयो । उद्योगमैत्री वातावरणबिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उहाँको भनाइ छ । उद्योग स्थापनादेखि सञ्चालनसम्म उत्पन्न विभिन्न समस्या समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत् अघि बढेको भन्दै उहाँले वीरगञ्जमा उद्योग विभाग स्थापनाको निर्णयसमेत गरेको बताउनुभयो । प्रदेशमा रोजगारी बढाउनसमेत उहाँले उद्योगीलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री राउतले भन्नुभयो, ‘सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशका रूपमा मधेश प्रदेश रहेको छ । यहाँका युवालाई उचित तालिम व्यवस्था गरी स्वदेशमै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीलाई आग्रह गर्छु ।’

सम्मेलनमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा विद्युत् उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताउनुभयो । उहाँले अन्य प्रदेशका विद्युत् उत्पादकसँग मधेश प्रदेशका उद्योगले सोझै विद्युत् खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन आग्रह गर्नुभयो । परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफलमा जोड दिँदै लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजीकरण आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन लागत घट्यो भनेमात्रै नेपाली उद्योग स्वदेशी एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन् । पूर्वाधार विकासको महत्वपूर्ण आधार हुँदाहुँदै हाम्रा लागि यो ठूलो चुनौती पनि रहँदै आएको छ । विशेष आर्थिक क्षेत्र र औद्योगिक कोरिडोरका लागि नयाँ अभियानले उद्योगको लागत प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ ।’ परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासको महत्वपूर्ण आधार भएकाले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता, नीतिगतलगायत सुधारका लागि सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो । उहाँले आगामी भदौ २३ र २४ गते चौथो नेपाल पूर्वाधार सम्मेलन हुने जानकारी गराउँदै उक्त सम्मेलनमा भाग लिन मधेश प्रदेश सरकारसहित उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले मधेश प्रदेशमा ठूलो आर्थिक सम्भावना रहेको भन्दै सम्मेलन सार्वजनिक, निजी संवाद र सहयोगका लागि महत्वपूर्ण प्लेटफर्म भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक विकासका लागि निजी क्षेत्रले सरकारसँग मिलेर काम गरिरहनु पनि उत्तिकै जरुरी छ । परिसंघले आर्थिक वृद्धिका लागि प्रान्तीय सरकारसँग मिलेर गरिरहेको काम प्रभावशाली छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?